पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यससंगै प्रतिवादीको संख्या ४४ पुगेको छ ।
०७२ सालअघिका सहकारीका पूर्वसञ्चालक समितिका २५ जना पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यसअघि ०७२ पछिका १९ जना पदाधिकारीलाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यसमध्ये ५ जना मात्रै पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले २०७२ अघिका सञ्चालक समितिका पदाधिकारीविरुद्ध एक साताअघि पक्राउ पुर्जी जारी भएको बताए ।
सहकारी पीडितले अघिल्लो प्रतिवेदन अपुरो भएको भन्दै ०८० माघ २२ मा दोस्रोपल्ट उजुरी दिएका थिए । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध छानबिनको माग गर्दै पीडितले उजुरी दिएका हुन् ।
उक्त उजुरीपछि महानगरका विज्ञ प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र पीडितका प्रतिनिधि सम्मिलित टोलीले सूर्यदर्शनको पुनः वित्तीय विश्लेषण प्रतिवेदन तयार गरेको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त प्रतिवेदन वैशाख २७ मा प्रहरीलाई बुझाएका थिए । ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन ९ खण्डमा विभाजित छ ।
१८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको र ४ सय ३३ ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ ।
२०८० साउन २२ मा सहकारीपीडितले सञ्चालक समितिका ६ र सहकारी ठगीका मुख्य योजनाकार पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
साउन २४ मा राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । असोज १८ मा जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो ।
हाल सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।
१८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधिन छ ।