कुनै पनि कुराको लत ठिक होइन । धेरैजसो मानिसले लतलाई रक्सी र चुरोटसँग जोड्छन् तर, जंक फूडको अत्यधिक सेवन पनि एक किसिमको लत हो । यसमा समयमै ध्यान दिएन भने सानै उमेरमा यस्ता रोगको सिकार बन्न सक्छ जीवनभर औषधि र अरूमा भर पर्नुपर्छ ।
भागदौडपूर्ण जीवनमा हामी घरकै खानाभन्दा जंक फुडहरू पिज्जा, बर्गर, कोल्ड ड्रिंक्स, फ्रेन्च फ्राइज र आइसक्रिम आफैँ र बच्चालाई खुवाइरहेका हुन्छौ जसका कारण बालबालिकाहरू बाल्यकालमा नै बुढ्यौली रोगको सिकार हुन थालेका छन् ।
जंक फोड आजको अस्वस्थ जीवनशैलीको लागि सबैभन्दा बढी जिम्मेवार पक्ष हो । जंक फूडले बजारमा कस्ता प्रकारका रोगहरूलाई निम्त्याइरहेको छ, यसबारे जानौँ
मोटोपना : मोटोपना यस्तो रोग हो जसलाई समयमै नियन्त्रण गर्न सकिएन भने उच्च रक्तचाप, स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । मोटोपनालाई रोगको सुरुवात मान्न सकिन्छ । जंक फोड खाने बानीका कारण मोटोपना तीव्र गतिमा बढ्न थाल्छ ।
मधुमेहको जोखिम : जंक फूडमा शरीरको लागि आवश्यक पोषक तत्त्वहरू थोरै वा कुनै पनि हुँदैन । फाइबरको अभाव र जंक फूडमा चिनीको मात्रा बढी हुँदा रगतमा चिनीको मात्रा बढ्छ, जसले मधुमेहको जोखिम बढाउँछ ।
उच्च रक्तचापको समस्या : बर्गर, फ्रेन्च फ्राइज र अन्य यस्ता जंक फूडको स्वाद नुन र डीप फ्राइको कारण आउँछ । जब तपाईँ यिनीहरूको सेवन गर्नुहुन्छ तपाईँको शरीरमा आवश्यकता भन्दा बढी नुन प्रवेश गरिरहेको हुन्छ । जब शरीरमा सोडियमको मात्रा बढी हुन्छ तब रक्तचापको जोखिम बढ्छ ।
दमको समस्या : जंक फू को अत्यधिक सेवनले तपाईँको श्वासप्रश्वास प्रणालीलाई पनि असर गर्छ । मोटोपनाले मुटु र फोक्सोमा अतिरिक्त दबाब दिन्छ, जसका कारण तपाईँ दमको सिकार हुन सक्नुहुन्छ ।
मानसिक स्वास्थ्यमा प्रभाव : जंक फूडले तपाईँको मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । मोटोपना बढ्ने कारणले कुनै पनि प्रकारको शारीरिक गतिविधि गर्न सकिँदैन जसका कारण तनाव हर्मोन बढ्न थाल्छ र व्यक्तिमा चिडचिडापन, तनाव, डिप्रेसन जस्ता लक्षणहरू देखा पर्छन् ।
छालालाई पनि हानि पुर्याउँछ : धेरै नुन र चिनीको सेवनले समय नपुग्दै बुढ्यौली बनाउन सक्छ । जसका कारण छाला बिग्रन थाल्छ । स्वास्थ्यका साथसाथै तपाईँको छालाको लागि स्वस्थ आहार पनि महत्त्वपूर्ण हुन्छ तर आवश्यक पोषणको कमीले अनुहार थकित देखिन्छ र चमक पनि कम हुन थाल्छ ।
यदि तपाईँ आफ्नो स्वास्थ्य र छालालाई यी खतराहरूबाट जोगाउन चाहनुहुन्छ भने आफ्नो आहारबाट जंक फोड हटाउने र स्वस्थ जीवन अपनाउने संकल्प गर्नुहोस् ।