सर्लाही । ईश्वरपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ईश्वरपुर नगरपालिका ११ खोरियाबाट बबरगंजतर्फ जाँदै गरेको बा २२ प ३९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बीआर ३० डी ३२३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई मोटरसाइकलमा सवार पाँच जना र एक जना पैदल यात्री गरेर ६ जना घाइते भएका हुन्।
दुर्घटनामा भारतीय बीआर ३० डी ३२३१ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर ११ निवासी २५ वर्षीय दिपेश शर्मा, उनकी पत्नी २२ वर्षीया अन्जली ठाकुर र उनीहरुकी ७ महिनाको छोरा दिब्यान्स घाइते भएका छन् ।
त्यसैगरी दुर्घटनामा बा २२ प ३९३० नम्बरको मोटरसाइकलका चालक सर्लाहीकै चन्द्रनगर गाउँपालिका ६ का १८ वर्षीय रवी साह, सोही ठाउँका जयकिशोर साहकी १५ वर्षीया छोरी विमला साह र स्थानीय लक्ष्मी साहकी १८ वर्षीया छोरी सुस्मा कुमारी साह घाइते भएका प्रहरीले जनाएको छ। सुस्मा पैदल यात्री हुन्।
घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा राखेको छ ।