जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको आगामी वैशाखमा महाधिवेशन हुने भएको छ । दुई दिनसम्म चलेको लोसपा नेपालको केन्द्रीय कार्यकारिणीको बैठकबाट महाधिवेशन वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।
महाधिवेशनको तयारीमा जुटेको लोसपा नेपालले यस अघि आउँदो कार्तिकदेखि चैतसम्ममा वडा अधिवेशनदेखि जिल्ला अधिवेशन हुँदै प्रदेश अधिवेशनसम्म गर्ने निर्णय समेत गरेको लोसपा नेपालका महासचिव परमेश्वर साहले जानकारी दिए । यसका लागि कार्तिकसम्म साधारण सदस्यता वितरण एवं क्रियाशील सदस्यता वितरणको अभियान सञ्चालन गरिएको छ ।
वडादेखि प्रदेश अधिवेशनसम्म सो सदस्यता वितरण अभियान जारी रहने छ भने त्यसपछि महाधिवेशन वैशाख २६ गते हुने निर्णय भएको महासचिव साहले प्रस्ट गरे । लोसपा नेपाल केन्द्रीय समितिको कार्यालयमा भएको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय समेत भएको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधनको आवश्यकता रहेको औल्याएका छन् ।
संविधान संशोधनका लागि लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष दानबहादुर विश्वकर्मा र महासचिव परमेश्वर साह रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको छ ।