काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिकाप्रसाद उप्रेतीलाई छानविन गर्न बिहीबार मन्त्रालय तानेको छ ।
डेर्नमाकको अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक ब्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिद सहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानविनको लागि मन्त्रालय तानेको हो । मन्त्रालयले उनीमाथि छानविन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
‘एकजना ब्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतानिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन् । त्यो उजुरीमाथि छानविन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको हो । त्यसको विषयमा छानविन गर्न समिति बनाइएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने ।
उप्रेतीमाथि बोर्डमा आफ्नो निकट आफन्तलाई अधिकृतस्तरको कर्मचारी भर्ना गर्ने प्रक्रियामा निजी ल्यापटपबाट परीक्षा दिन लगाएको आरोप पनि लागेको थियो ।
‘उहाँले बोर्डको कार्यसम्पादनलाई गम्भीरता पूर्वक काम गरिराख्नु भएको थिएन । सधै विवादै विवादमा घेरिनु भइरहेको थियो । पछिल्लो पटक गम्भीर प्रकृतिको आरोप लागेपछि मन्त्रालयले छानविन गर्न लागेको हो,’ ती अधिकारीले भने ।
उनीमाथि यसअघि नै परेको उजुरीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।कान्तिपुर