काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन् । वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ बिक्री गर्दै आएका छन् ।
उनले देशभरका विभिन्न क्षेत्रमा हिँड्दै किताब बिक्री गर्दै आएका हुन् । उक्त सङ्ख्यामा किताब बेचेर उनले ११ करोड ६२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन् । प्रति पुस्तकको ७५० रुपैयाँ मूल्य तोकिएको छ ।
सरकार र पुनको राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना चलाउने विषयमा सहमति भएको थियो। सोही आधारमा पुनले कारखाना सञ्चालन गर्दै आएका छन् ।
उनलाई राज्यले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था नगरिदिएपछि किताब बेचेर कारखाना सञ्चालन गर्न खोजेका हुन् ।