काठमाडौं । आज माघ १९ । वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएको दिन ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासनसत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासनसत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रुपमा सम्झने गरिन्छ ।
तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा माओवादीलाई नजिक तुल्याएको थियो । त्यसपछि भएको १२ बुँदे सहमतिको जगमा २०६२/६३ को जनआन्दोलन भएको थियो ।
सात दल र माओवादीबीच सहमति भइ सुरु भएको जनआन्दोलनको प्रतिफलस्वरुप पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको जगमा भएको पहिलो संविधानसभाले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।
२०६४ को निर्वाचनपछि बनेको संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २३८ वर्षीय राजसंस्था अन्त्य भएको घोषणा गर्यो। २०६५ जेठ २९ गते ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए ।