मुस्कान अस्पतालमा विरामीको उपचारमा लापरबाही, बन्द गरेर साँचो बुझाउन मुख्यमन्त्रीको निर्देशन


जनकपुरधाम । विरामीको उपचारमा लापरबाही गरेको भन्दै जनकपुरधामस्थित मुस्कान अस्पताललाई तत्काल बन्द गरी साँचो बुझाउन मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

अस्पतालमा सर्लाहीको हरिपूर्वा नगरपालिका ५ की २५ वर्षीया बविता यादवको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । तर उनको होस अहिलेसम्म खुल्न नसकेको घटना बाहिरिएपछि मुख्यमन्त्री सिंह अस्पताल पुगेका थिए ।

उनी शुक्रबार दिउँसो अस्पताल पुग्दा सञ्चालक भेटेका थिएनन । त्यसपछि मध्यरातमा पुनः अस्पताल पुगेर मुख्यमन्त्री सिंहले शनिवार विहान ११ बजेभित्र अस्पतालमा ताला लगाएर साँचो बुझाउन निर्देशन दिए ।

मुख्यमन्त्री सिंह पुग्दा अस्पतालमा मात्र तीन विरामी थिए । पित्तथैलीको शल्यक्रिया गराएकी महिला यादवको होस् नखुलेकाले उनलाई तत्काल बाहिर पठाउन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनपछि अस्पताल प्रशासनले ति महिला विरामीलाई जानकी हेल्थ केयरमा पठाएको बुझिएको छ । शल्यक्रियामा लापरबाही गरेको विषयमा छानविन गर्ने र दोषी ठहर भए कानून बमोजिम कारबाही हुने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

उक्त अस्पताल कुनै निकायमा दर्ता छैन । स्वास्थ्य समन्धी सहायक सेवाहरु सञ्चालन गर्न पाउने भनेर कम्पनी रजिस्टारको कार्यालयमा मात्र दर्ता छ । अस्पतालले एमविविएस डाक्टर समेत नराखेको पाइएको छ । कार्यरत एचए र अहेबसहितका कर्मचारीलाई नियुक्ति पत्र पनि दिएका छैनन ।

प्रकाशित : 8 February 2025 11:53 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ