लहान । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाय मृत्यु घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा ५ छानबिन समिती गठन भएको हो । प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारी सदस्य छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचनाअधिकारी समेत रहेका कोइराला नेतृत्वको छानबिन टोली आज घटनास्थल पुगेको छ ।
उनका अनुसार मृतकको काका राम सेवक सदायले दिएको किटानी जाहेरीपछि इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहनमा अनुसन्धान अघि बढाएको छ ।
गत माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तीन युवकले सामूहिक बलात्कार गरेको कारण छोरीले आत्महत्या गरेको आमाको भनाइ छ ।
स्थानीयले पञ्चायतमार्फत् पीडित परिवारलाई घटना लुकाउन दबाब दिएको थियो । बलात्कृत किशोरी मृत फेला परेपछि मुद्दा कमजोर पार्न प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको गुनासोपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।