अब मधेससहित सबै प्रदेशबाट सवारी लाइसेन्स छपाई हुने


काठमाडौ । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) छपाई गर्न मधेससहित सबै प्रदेश सरकार तयार भएका छन् ।

यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकि सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गतेसम्ममा सवै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सवै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरीङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु बीच नीतिगत समन्वय गरि एकरुपता प्रदान गर्न प्रदेश सरकारको सहभागीतामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागु गर्ने निर्णय गरेको छ ।

यसैगरि यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैतमसान्तभित्र सवै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने निर्णय भएको छ ।

प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र (ईडीएल) मा यो लागु हुने र क्रमश भुक्तानीका सवै क्षेत्रमा लागु गर्नेसहितका विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समिक्षा हुने जनाईएको छ ।

सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोस्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ