भारतीयलाई नागरिकता दिनेलाई कारबाही गर्न सिरहाका प्रजिअलाई ज्ञापनपत्र बुझाइयो


सिरहा । सिरहामा भारतीयलाई नागरिकता दिने काममा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नरहा गाउँपालिका ३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासनले भारतीय नागरिकलाई नागरिकता दिएको विषयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।

भारतीय नागरिक मोसताक मियाँलाई वडाका जनप्रतिनिधि र कर्मचारीदेखि जिल्ला प्रशासनसम्मका कर्मचारीको मिलेमतोमा नागरिकता दिइएको तथ्य मिडियामा सार्वजनिक भएको थियो । नागरिकताका लागि नरहा ३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई नक्कली बुबाआमा बनाइएको छ ।

यो तथ्य सार्वजनिक भएपछि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले भुलचुकमा सिफारिस हुन गएको दाबी गर्दै आएका छन् । तर, स्थानीयले भने उनीहरूले दुई लाखसम्म भारतीय रुपैयाँ घुस लिएर नागरिकता बनाइदिएको आरोप लगाउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय, सिरहाबाट २०८० असार २६ मै नागरिकता जारी भएको थियो । तर, यस विषयमा जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी पर्दा पनि अहिलेसम्म कारबाही हुन सकेको छैन ।

प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ