जनकपुरधामको अन्तरगृह परिक्रमामा उर्लिए श्रद्धालुहरु


जनकपुरधाम । जनकपुरधामको अन्तरगृह परिक्रमासंगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत सकिएको छ ।

अन्तरगृह परिक्रमामा लाखौं श्रद्धालुहरु उर्लिएका छन् । आज विहान करिब ४ बजेदेखि नै अन्तरगृह परिक्रमा सुरु भयो । अहिले जनकपुरधाममा जताततै श्रद्धालुहरुको भीड देखिन्छ ।

मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दूरीको अन्तरगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तरगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारैकुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रूपमा सुरु भएको थियो ।

१३३ किलोमिटर खाली खुट्टा यात्रा गरी परिक्रमा टोली हिजो जनकपुरधाम आइपुगेको थियो । राति राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन गरियो ।परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आफूभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् ।

परिक्रमामा सामेल भएर आजको दिन गरिब विपन्नलाई दान गरेमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अहिले जनकपुरधामको सडकमा दान थाप्नेहरु पनि जताततै सडकमा बसेका छन् ।

अन्तरगृह परिक्रमाको विहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ । सो अनुसार जनकपुरधामबासीले शनिवार (होली) मनाउनेछन् । तराई/मधेसका अधिकांश श्रेत्रमा भने आजै होली मनाइदैछ ।

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार ०८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ