आमिर खानले प्रि-बर्थडे सेरेमोनीमा सार्वजनिक गरे नयाँ प्रेमिका


आज (मार्च १४) बलिउड अभिनेता आमिर खानको ६०औँ जन्मदिन । तर यसपटक उनको जन्मदिनभन्दा चर्चाको विषय बनेको छ- नयाँ प्रेमिका ।

आमिर जन्मदिनको पूर्वसन्ध्यामा बिहीबार साँझ मुम्बईको एक होटलमा आयोजित प्रि-बर्थडे सेरेमोनीमा आफ्नो प्रेमिका सार्वजनिक गरेका हुन् ।

बिहीबार साँझ आमिरले एकाएक नयाँ प्रेमिका भन्दै गौरी स्प्राट नामकी महिलालाई मिडियासामु प्रस्तुत गर्दा बलिउडमा तरंग छाएको छ ।

प्रेमिकाको परिचय गराउँदै आमिरले १८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको बताए । गौरी बैंग्लोरमा सैलुन व्यवसाय चलाउने रीता स्प्राटकी छोरी हुन् ।

जीवनका धेरै समय बैंग्लोरमा बिताएकी उनले सन् २००४ मा लन्डनको युनिभर्सिटी अफ आर्ट्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरिन् ।

अहिले उनी मुम्बईमा बिब्लन्ट नामक सैलुन सञ्चालन गर्छिन् । मिडिया कुराकानीमा बिहीबार गौरीले आफूले आमिर खानको प्रोडक्सन कम्पनीसँग मिलेर काम गरिरहेको बताएकी छन् ।

गौरीको ६ वर्षीय सन्तान पनि छन् । बिहीबार आमिरले आफ्नो प्रेमसम्बन्धबारे खुलासा गर्दै भने, ‘हेर्नुस, मैले तपाईंहरू कसैलाई केही पनि थाहा पाउने मौका दिइनँ ।’

हुन त यसअघि पनि आमिरले कुनै महिलासँग प्रेम गरिरहेको चर्चा चलेको थियो । आमिरले गौरी भेट्न बैंग्लोरमा जाने गरेको र त्यहाँ मिडियाको उपस्थिति पनि पातलो हुने गरेकाले यो कुरा सार्वजनिक नभएको बताए ।

गौरी मुम्बईमा आउँदा आफूले आफ्ना बच्चा र परिवारसँग भेटाएको पनि आमिरले बताए ।शुक्रबार आमिरले साथी र परिवारसँग डिनरको आयोजना गर्दै छन् । जहाँ गौरी पनि उपस्थित हुने बताइएको छ ।

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो । उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन् । रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन् ।

तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ । आमिरको आगामी फिल्म ‘सितारे जमिन पर’ प्रदर्शनको तयारीमा छ। यो फिल्म यसअघिको हिट ‘तारे जमिन पर’को दोस्रो शृ‌ंखला हो ।

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ