टिकटकलाई ५३ करोड युरो जरिवाना गरियो, यस्तो छ गल्ती !


एजेन्सी । प्रयोगकर्ताको डेटा चीनमा पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना गरिएको छ ।

आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले शुक्रबार जरिवाना जारी गर्दै टिकटकले चीनमा व्यक्तिगत जानकारी स्थानान्तरण गर्दा युरोपेली संघको डाटा सुरक्षा नियम उल्लङ्घन गरेको र पारदर्शिताको आवश्यकता पूरा गर्न असफल भएको जनाएको छ ।

टिकटकको युरोपेली मुख्यालय डब्लिनमा रहेकाले आइरिस नियामक निकायले जिम्मेवारी लिएको छ । सामाजिक सञ्जाल समूहले यो फैसलाले विश्वव्यापी रूपमा सञ्चालित युरोपको कुनै पनि कम्पनीमा नकारात्मक प्रभाव पार्ने बताएको छ ।

टिकटकको मूल कम्पनी बाइटडान्सले यो निर्णयसँग असहमत रहेको भन्दै अपिलमा जाने बताएकाे छ । टिकटकले डीपीसीले आफ्नो प्रतिवेदनमा दाबी गरे अनुसार चिनियाँ अधिकारीबाट युरोपेली प्रयोगकर्ताको डेटाको अनुरोध कहिल्यै प्राप्त नगरेको स्पष्ट पारेकाे छ ।

‘यो निर्णयले टिकटकमा मात्र होइन, विश्वव्यापी रूपमा सञ्चालित युरोपको कुनै पनि कम्पनीमा प्रभाव पार्छ । हामी यो निर्णयसँग असहमत छौँ र पूर्ण रूपमा अपील गर्नेछौँ,’ कम्पनीले भनेकाे छ ।

यो जरिवाना आइरिस डीपीसीले जारी गरेको तेस्रो ठूलो जरिवाना हो । यसअघि फेसबुकको मालिक मेटालाई १.२ अर्ब युरो र अमेजनलाई ७४ कराेड युरो जरिवाना गरिएको थियो ।

सन् २०२३ मा, बालबालिका र किशोरकिशोरीको व्यक्तिगत डेटा प्रशोधनमा टिकटकलाई ३४ कराेड युरो जरिवाना गरिएको थियो ।

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ