झा दम्पतीको अपहरण गर्ने बाबु-छोरा र भारतीय नागरिक फन्दामा परे


जनकपुरधाम : महोत्तरीको पिपरा गाउपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गितादेवीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्तलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीको पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।

घटनामा उनी चारै जनाको संलग्नता देखिएकाले पक्राउ गरिएको महोत्तरी प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य जानकारी दिए । ‘उनीहरुले अपहरण गरेको नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ,’ एपी आचार्यले भने, ‘आरोपीको घरबाट प्रमाणसमेत बरामद भएको छ ।’

झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो ।

घटनामा संलग्नहरु पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरुले झा दम्पतीलाई कहाँ राखेको भन्ने कुरा अझै नखुलाएको जानकारी दिए ।

प्रकाशित : 21 March 2021 9:49 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ