महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउन उपेन्द्र यादव पनि सहमत


काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका छन् । राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन् । यस्तो परिस्थितिमा यादवले शुक्रबार बिहान पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए ।

‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं ।’ प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उनले भने, ‘मान्नुहुन्छ होला ।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिईरराजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँछन् । अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उनले बताए । उनले अरू सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएकोसमेत दाबी गरेका छन् । – सेतोपाटी

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ