आज जनमत पार्टी संघीय सरकारमा सहभागी हुँदै, माओवादीका कुन मन्त्री हट्दैछन् ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

आज सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीबाट अनितादेवी साहलाई मन्त्री बनाउने भएका हुन् ।

जनमत पार्टीले गत असार २६ गते नै मन्त्रीका लागि अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ। तर त्यसको भोलिपल्ट (असार २७ गते) बिहानै प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो।

आज भने प्रधानमन्त्रीले उनलाई मन्त्रीमा नियुक्ति गर्ने भएका हुन् ।

यसैबीच प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । त्यसैले अब अर्को मन्त्री थप्दा यही संख्याभित्र समेट्नुपर्ने भएकाले कुनै एक मन्त्रीलाई हटाएर उनको ठाउँमा साहलाई राख्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ ।

सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको छ। यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ ।

बालुवाटार स्रोतका अनुसार संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ।
हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रधानमन्त्रीले कुन मन्त्रीलाई बोलाउलान् फिर्ता ?

मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लागेको छ ।

उता मन्त्री किरातीले पनि कामभन्दा हल्ला बढी गरेको निष्कर्ष बालुवाटारको छ। तर मोदीजसरी आर्थिक चलखेलमा किराती मुछिएका छैनन् । अब हेरौँ– प्रधानमन्त्री प्रचण्डलाई कसलाई फिर्ता बोलाउलान् ?

प्रकाशित : 13 August 2023 10:58 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ