काठमाडौं : प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छोडेर प्रधानमन्त्री केपी ओली समूहमा प्रवेश गरेर शहरी विकास मन्त्री बनेका प्रभु साहले मधेसमा ओलीको जयजयकार भएको बताएका छन् ।
शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्ने कुरामा सत्यता नभएको बताए । ‘मान्छेहरु केपीजी भनेको मधेस विरोधी भन्थे, त्यो झुठ रैछ’, उनले भने । उनले मधेसी जनता ओलीको पक्षमा रहेको दावी गरे । उनले संकटका बेला पनि मधेसी जनता ओलीको पक्षमा, सत्यको पक्षमा र परिवर्तनको पक्षमा रहेको बताए ।
उनले मधेस स्वायत्त प्रदेश दिने नाममा मधेसी जनतालाई प्रचण्डले धोका दिएको बताए । उनले प्रधानमन्त्री लामो सयमदेखिए एउटै कुरा बोल्दै आएको र झुटा आश्वासन दिएर जनतालाई धोका दिने काम नगरेको बताए । ‘ओली ३० वर्ष अगाडि १० वर्ष अगाडि जे बोल्नुभएको छ अहिले पनि त्यही बोल्दै आउनुभएको छ । सत्यको पछाडि लाग्छ मधेसी जनता’, उनले भने ।
उनले मधेसको विकासमा प्रधानमन्त्रीको उल्लेख्य योगदान रहेको बताए । उनले मधेसी जनताले विश्वासका साथ ओलीलाई साथ दिएको बताए । ‘उत्पीडित जनता हामीसँग छ, तराई मधेमा ओलीजीको जयजयकार छ, केपी जीसँग मात्र मधेसको केही हुनसक्छ भन्ने मधेसको जनताले बुझेका छन्’, उनले भने । उनले मधेसका ३२ मा २० ओली समूहको आउने दावी गरे ।

तपाईको प्रतिक्रिया