रवि लामिछानेविरुद्ध आज थुनछेक बहस हुने


काठमाडौं, ९ भदौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ । आज बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए । लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा नाराबाजी गरेका थिए । तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य थियो ।

तीन जनालाई बिहान सवा नौ बजेतिर नै जिल्ला अदालत लगिएको थियो । मुद्दा भने दिउँसो दर्ता भएको हो । चितवनबाहेक अन्यत्र पनि लामिछाने निर्दोष रहेको र उनलाई फसाइन लागेको दाबी गरेर प्रदर्शन हुने गरेको छ ।

प्रकाशित : २०७६ भाद्र ९, सोमबार ०१:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ