चितवन, ९ भदौ । निषेधाज्ञा तोड्न खोजेपछि रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । चितवनको जिल्ला प्रशासन कार्यालय चोक र हाकिम चोकमा झडप भएको हो। रविका समर्थक जुलुससहित आएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको जनाएको छ।
उनीहरूले निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरिएको जनाएको छ । झडपका क्रममा रविका समर्थकले ट्रकमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हाकिम चोकमा ट्रकमा आगजनी भएको हो ।
ट्रकमा आगजनी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा पाँच जनाभन्दा बढी भेला नहुन दिन निषेधाज्ञा जारी गरिएको थियो ।
यसैबीच शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगको मुद्दामा बहस सुरु भएको छ। केहीवेर अघि रवि र युवराज कँडेलको बयान सकिएको थियो।