महोत्तरीमा फेरी भिषण डकैती, डाँकाको आक्रमणबाट एक घाइते


महोत्तरी,१४ भदौं । महोत्तरीको मनरा सिसवा नगरपालिका ३ सुनौलमा हतियारधारी समूहले दुई परिवारको घरबाट लाखौंको धनमाल लुटेका छन् । डाँकाको आक्रमणबाट एक जना घाइते छन् ।

शनिबार मध्यरातमा ८/९ जनाको संख्यामा घरेलु हतियारसहित आएको समूहले परिवारलाई नियन्त्रणमा लिई आफूखसी लुटपाट गरेको पीडितले जनाएका छन् । डाँका समूहले सुरुमा रामलोचन राउतको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । प्रतिकारमा उत्रेका घरमूली राउतमाथि समूहले बन्चोर प्रहार गर्दा उनको बायाँ खुट्टामा गहिरो घाउ लागेको छ ।

लगत्तै छिमेकी सियारामशरण राउतको घरमा प्रवेश गरी लुटपाट मच्चाएका थिए । घटनाबारे जानकारीपछि गाउलेहरु प्रतिकारमा उत्रेपछि डाँका समूह धनमाल लिएर भागेको प्रत्यक्षदर्शीले बताए । स्थानीय देवेन्द्र यादवकाअनुसार १५/२० मिनेटभित्रै समूह लुटपाट गरेर भागी सकेका थिए ।

२ लाख ५० हजार नगद , ६ तोला सुन र ६० तोला चाँदीका गहनालगायत १० लाख बढीको धनमाल लुटेको दुवै पीडितले जनाएका छन् । स्थानियकाअनुसार इटहरवाकट्टी र बलवास्थित चौकीबाट राति नै प्रहरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेका थिए । घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित : २०७६ भाद्र १४, शनिबार ०६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ