विप्लव समूहका महोत्तरी जिल्ला सेक्रेटरी पक्राउ


महोत्तरी, ३ असोज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी ४५ वर्षीय भीमबहादुर आले मगरलाई प्रहरीले पक्राउ गरेको छ।

गौशाला नगरपालिका वडा नं ८ बेलगाछिबाट मगरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए। प्रतिबन्धित पार्टीमा सक्रिय रही भूमिगत गतिविधिमा लागेकोले निजको घरबाट नै गिरफ्तार गरेको प्रहरीले जनाएको छ। मगरलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइसकेको इन्स्पेक्टर आचार्यले बताए।

उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको छ। यही आरोपमा चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले भदौ १३ गते पक्राउ गरेर हिरासतमा राखेको छ। प्राप्त सूचना र प्रमाणको आधारमा दुवैविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पक्राउ परेका चन्द समूहका युवा संघ महोत्तरी अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन्।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ