जनकपुरमा प्रहरीकै सामुन्ने संविधान जलाइयो


जनकपुरधाम, ३ असोज । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान जलाएको छ। संविधानलाई मधेस विरोधी भन्दै राजपाका कार्यकर्ताहरुले जनकपुरधामको शिव चोकमा शुक्रबार साँझ प्रहरीकै सामुन्ने संविधान जलाएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री तथा राजपा नेता जितेन्द्र सोनलको नेतृत्वमा राजपाका युवा नेता संविधान जलाएका छन् । संविधान जलाउनु अघि राजपाले विरोध जुलुस निकालेका थिए। जुलुसको सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी खटेका थिए । जुलुस जनकपुरको विभिन्न भागमा परिक्रमापश्चात शिव मन्दिर अगाडि कोणसभामा परिणत भएको थियो । कोणसभा सकेपछि संविधान जलाइरहँदा प्रहरीले केही गरेनन् ।

कोणसभामा मन्त्री सोनलले संविधान संशोधन गरी सबै समुदायको हकअधिकार ग्यारेण्टी नगरेसम्म विरोध जारी राख्ने बताए । उनले जनताले मत दिएर जिताएपछि सत्तामा पुगेको भन्दै कसैको दाया मायाले सरकारमा नपुगेको बताए। उनले भने, ‘मधेस समृद्धिका लागि सरकारमा छौँ। तर संविधानमा अधिकारका लागि प्राण रहेसम्म लडिरहनेछौँ।’

यस्तै, थरूहट समुदायका अगुवा तथा नेता लक्ष्मण थारूले कोणसभाबाटै संविधान जलाउने उद्घोष गरेका थिए। उनले मधेस, थरुहट, जनजाती, मुस्लिम लगायतका समुदायको अधिकार संविधानमा नसमेटिएको भन्दै संविधानको डटेर विरोध गर्नुपर्ने बताए। उनले अब अधिकारका लागि पुनः विद्रोह हुने चेतावनीसमेत दिए ।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ