सप्तरीको पूर्वी भेगमा हात्ती आतंक अत्यधिक, घर र बालीनाली नष्ट पार्दै


सप्तरी, २० माघ । कोशी टप्पु वन्यजन्तु आरक्षटबाट निस्किने हात्तीको आतंकका कारण सप्तरीको पूर्वी क्षेत्रका बासिन्दाहरु दिनप्रतिदिन पीडित बन्दै गएका छन् । प्रत्येक दिन वस्ती पस्ने हात्तीले व्यक्तिको घर भत्काउनुका साथै बाली, नाली नष्ट पार्दै आएका छन् ।

पछिल्लो पटक शनिबार राति र आईतबार बिहान आएको हात्तीले कंचनरुप नगरपालिकामै मात्र लाखौंको क्षति पु¥याएको छ । ५ वटाको समूहमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले पूर्व मन्त्रीसहितकाले लगाएको बालीनाली नष्ट गरेका छन् । हात्तीले व्यक्तिले लगाएको बार समेत भत्काएका छन् ।

आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर लाखौंको क्षति गरेका छन् । हात्तीले उनको आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन् ।

५ वटा हात्तीको समूहले ती अन्नहरु सखाप पार्दा रु ८० हजार बराबरको क्षति भएको पीडितले बताएका छन् । केसीको धान र मकै खाएर हात्ती जंगलतर्फ भागेको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री हेमराज तातेड्ले आफ्नो खेतमा लगाएको बिभिन्न बाली खाएर नष्ट गरेका छन् । मध्यान्ह १२ बजे रातितिर आएको हात्तीले तातेडले लगाएको बालीहरु न्ष्ट गरेको प्रहरीले जनाएको छ ।

तातेडले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरमा लगाएको आलुबाली, गहुँबाली कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको पाँच वटा हात्तीको समूहले नष्ट गरेको प्रहरीले जनाएको छ ।

सप्तरीमा हात्ती आतंक दैनिक रुपमा भइरहेको छ । खासगरी राति आउने हात्तीले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमण समेत गर्दै आएका छन् । जिल्लाको कंचनरुपसहित सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासावरण, रुपनी गाउँपालिका र हनुमाननगर कंकालनी नगरपालिकाको पूर्वी भेगमा हात्तीको आतंक अत्यधिक रहेको छ ।

हात्ती आतंकले पछिल्लो पटक अग्निसाइर कृष्णासावरण र रुपनी गाउँपालिकाका एक दर्जन भन्दा बढी व्यक्तिको घर भत्काइदिएका छन् । हात्तीले घर भत्काइदिएपछि उनीहरुको विचल्ली भएको छ ।

हात्ती आतंकबारे पटक–पटक तीनै तहका सरकारलाई जानकारी गराउँदा समेत कसैले कुनै चासो नलिएको हात्तीपीडितहरुले बताएका छन् । यस क्षेत्रका सांसददेखि स्थानीय तहका जनप्रतिनिधीलाई ज्ञापन पत्र बुझाउनेदेखि मौखिक जानकारी गराउँदा समेत कसैले कुनै ध्यान नदिएको उनीहरुको भनाई छ ।

हात्ती आतंक बढेपछि यस क्षेत्रका बासिन्दाहरु पालैपालो सुत्ने गरेको स्थानीयहरुले बताएका छन् । कुन कुनै दिन त दिउँसो हात्ती प्रवेश गर्ने गरेको यस क्षेत्रका बासिन्दाहरुले बताएका छन् ।

प्रकाशित : २०७६ माघ २०, सोमबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ