सप्तरीमा मेयरमाथि आक्रमण गर्ने पाँच जनामाथि मुद्दा दायर, तीन जना पक्राउ


राजविराज, २४ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयरमाथि हमला गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहमाथि आक्रमण भएको बिरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

दोषीमाथि कार्वाही नगरिए स्थानीय तहलाई निरन्तर बन्द राखिने जिल्ला समन्वय समितिका पदाधिकारीसहित सबै पालिकाका जनप्रतिनिधीले धम्की दिएका थिए । जिल्ला प्रहरी सप्तरीका प्रबक्ता डिएसपी तिलक भारतीले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव र अर्जुन कुमार यादव तथा वडा नम्बर ३ का राजीव रायलाई पक्राउ गरिएको बताए ।

प्रहरीले मेयरमाथि आक्रमण गर्ने पाँच जनाबिरुद्व मुद्दा दायर गरेको छ । दुई जना फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मेयरमाथि हमला गर्ने पाँच जनाबिरुद्व अपमानजनक अमान्य व्यबहार शिर्षकमा मुद्दा दायर गरेको छ ।

मेयर साहमाथि भएको हमलाको बिरोधगर्दै दोषीमाथि कार्वाही गर्न भन्दै बिहीबार जिल्लाको सबै स्थानीय तह बन्द गरिएको थियो । जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटै स्थानीय तह र वडा कार्यालय समेत बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको थियो ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा केहि व्यक्तिहरुको समूहले गत मंगलबार बाटोमै रोकेर मेयर साहमाथि हातपात गरेका थिए । उनीहरुले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि समेत हमला गरेको मेयरको आरोप छ ।

मेयर साहमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाहीगर्न स्थानीय प्रशासनले प्रकृया अगाडि बढाएकाले शुक्रबारदेखि सबै स्थानीय तह खुल्ने राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जनाए । उनले भने, ‘प्रशासनले कार्वाही प्रकृया नबढाएको भए स्थानीय तह सञ्चालनमा कठिनाई हुने थियो ।’

प्रकाशित : २०७६ माघ २४, शुक्रबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ