विप्लव नेतृत्वको नेकपाका रौतहट इञ्चार्जसहित दुईजना पक्राउ


रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट इन्चार्जसहित दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले प्रतिबन्धित नेकपाका रौतहट जिल्ला इञ्‍चार्ज ‘संकेत’ भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङलाई पक्राउ गरेको हो । दुवैजनालाई रौतहट र मकवानपुर जिल्लाको सिमानाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेवडाँडा स्थित अल्जाजोरबाट पक्राउ गरेको प्रनानि शाहीले बताए । पक्राउ परेका नेकपा कार्यकर्ताको साथबाट एकथान नलकटुवा पेस्तोल र एकथान हातेगोला ९ग्रिनेड० बरामद भएको तथा पक्राउ परेका दुवै जनालाई आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको उपरीक्षक शाहीले जानकारी दिए ।

गत माघ १४ गते पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले सोही पार्टीकी रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई पक्राउ गरेको थियो ।

प्रकाशित : २०७६ चैत्र ८, शनिबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ