जनकपुर : ९५ वर्षीया महिला महन्थमाथि मन्दिरकै पूजारीबाट कुटपिट, प्रहरीमा उजुरी दर्तापछि छानविन सुरु


जनकपुरधाम : जनकपुरधामस्थित एक मन्दिरकी महिला महन्थमाथि मन्दिरकै पूजारीले कुटपिट गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ८ आँखा अस्पताल नजिकै रहेको मधुकर कुञ्जकी महन्थ मोती माईलाई सोही मन्दिरका पूजारी हरि शरणले कुटपिट गरेका हुन् ।

मन्दिरलाई एकलौटी रुपमा सञ्चालन गर्ने उदेश्यले हरि शरणले आफू र मन्दिरकै पूजारी विमल शरणलाई कुटपिट गरेको महिला महन्थ मोती माईले बताइन् । ९५ वर्षीय महिला महन्थ मोती माई विगत ८० वर्षदेखि सोही मन्दिरमा बस्दै आएकी छन् । सो मन्दिरका महन्थ रामप्रतापि शरणको मृत्यु भएपछि विगत ६ वर्षदेखि उनी मन्दिरको महन्थ छिन् ।

उनले आफू कुटिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । पूजारी हरि शरणको कुटाईबाट मोती माईको सेवा गर्ने ७४ वर्षीय विमल शरणलाई समेत चोट लागेको छ। विमलका अनुसार हरि शरण मन्दिर आफ्नो नियन्त्रणमा राख्न यस्तो गरिरहेका छन् । जसमा अग्नी कुण्डका महन्थ नवल शरणको समेत सहयोग रहेको विमल शरणले आरोप लगाए ।मन्दिरका पूजारी हरि शरण श्रीमती र सन्तानसँगै सो मन्दिरमा बस्दै आएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले पीडित पक्षले निवेदन दर्ता गराएकोले यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

– देशसञ्चार

प्रकाशित : २०७६ चैत्र ९, आईतवार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ