लहानका किसानले लकडाउनका बेला निःशुल्क बांडे १६ क्विनटल तरकारी


कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन सरकारले एक साताका लागि ‘लकडाउन’ गर्दा बजारमा तरकारीको भाउ आकासिएको छ। लकडाउनमा अधिकांश व्यापारी र किसान तरकारीको भाउ बढाएर पैसा कमाउन तल्लीन छन्।

तर, सिरहाका एक किसानले १६ क्विन्टल तरकारी निःशुल्क वितरण गरेका छन्। लहान नगरपालिका-२४ का किसान रामप्रकाश महतोले उक्त परिमाणमा तरकारी वितरण गरेका हुन्। उनले लहानको बजार क्षेत्रका गरिब, विपन्न तथा विशेषगरी त्यहाँ बस्ने बाहिरका व्यक्तिलाई तरकारी वितरण गरे।

आफ्नै खेतमा उब्जाएको करिब १६ क्विन्टल भन्टा किसान महतोले वितरण गरेको लहानका युवा गौरव साहले जानकारी दिए। उनका अनुसार किसान महतोले तीन ट्याक्टर भन्टा वितरण गरेका छन्। ‘हामीसँग वितरण गर्न सहयोग माग्नुभयो, हामीले वितरणमा सहयोग गरिदिएका छौं,’ साहले भने।

लकडाउनको बेला तरकारी नपाएर समस्यामा परेका गरिब, विपन्न तथा लहानमा बस्ने बाहिरका व्यक्तिहरूलाई भन्टा वितरण गरेको किसान महतोले बताए। उनले भने, ‘पैसा त जहिल्यै कमाउँछौं। अहिले दुःख परेकालाई सहयोग गर्नुपर्छ भनेर तरकारी निःशुल्क बाँडेको हुँ।’

उनले खेतमा अझै करिब ३ क्विन्टल भन्टा फलेको भन्दै आवश्यकता अनुसार फेरि वितरण गर्ने बताए।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ