विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएन, गाउँघरमा त्रास


धनुषा ;को सहिदनगर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गर्यो। संक्रमितको निःशुल्क उपचार गर्ने र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक ५ सय रुपैया भत्ता उपलब्ध गराउने घोाषणा गरियो।

मेयर उदय बरबरियाले जारी गरेको विज्ञप्तिमा भाइरस संक्रमित शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म ल्याउने र घरसम्म पुर्याउने तथा जनकपुर पुर्याउनु परेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने पनि भनिएको छ। तर, यी महत्वपूर्ण निर्णयहरु कागजमै सीमित हुने देखिएको छ। निर्णय बमोजिम नगरपालिकाले काम गर्न चाहेको छैन।

सोमवार राति सोही नगरपालिका ८ विसरभोरा टोलका ४ जना भारतको सुरतबाट घर आइपुगे। उनीहरुमा कोरोना भाइरस लागेको हुनसक्ने भन्दै यतिबेला गाउँले त्रसित छन्। उनीहरुलाई गाउँलेले छुट्टै राखेर प्रहरीसँग सम्पर्क गरी क्वारेन्टाइनमा राख्न आग्रह गरे। प्रहरीले भने यहाँ क्वारेन्टाइन नै छैन भनेर घरमै राख्न सुझाए। प्रहरीलले घरमै राख्न भनेपछि स्थानीय आश्चर्य चकित छन्। यतिबेला गाउँमा हलचल मच्चिएको छ।

स्थानीय विनोद राहिता भन्छन्, ‘सरकारले नै भारत वा अन्य ठाउँबाट आउने व्यक्तिको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा राख्न भनेको छ। तर, हामीले प्रहरीलाई खबर गर्दा वास्ता गरेन। अहिले भारतबाट आएका चारैजना घर पसिसके।’ कम्तिमा भारतबाट आउने चारैजनाको स्वास्थ्य परीक्षण गर्दा हुन्थ्यो नि।’ उनले भने।

भारतको सुरतमा मजदुरी गर्न गएका ३० वर्षीय राधे दास, २८ वर्षीय सन्तोष दास, ४१ वर्षीय रविन दास र ५० वर्षीय नेपाली भन्ने सितार्फी दास घर फर्किएका छन्।
स्वास्थ्य परीक्षण समेत नभई भारतबाट फर्किएका उनीहरु घरमा बस्न थालेपछि गाउँले डराएको स्थानीय सिबेन्द्र रोहिताले बताए। उनले भने, ‘उनीहरुलाई रुघाखोकी समेत लागेको देखिएको छ। त्यसैले उनीहरु कोरोना संक्रमित हुनसक्ने भनेर हामी डराएका छौं।’ चारैजनालाई तत्कालै क्वारेन्टाइनमा राख्न पहल गरिदिन उनले बिन्ती गरे।

यता, इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले भारतबाट ४ जना यहाँ आएको विषयमा जानकारी प्राप्त भएको डर क्वारेन्टाइनमा राख्ने नराख्ने विषयमा स्वास्थ्यकर्मीले निर्णय गर्ने बताए। उनले स्वास्थ्यकर्मीहरु उनीहरुको घरै पुग्ने पनि बताए। नगर प्रमुख उदय बरबरियासँग सम्पर्क हुन सकेन।

सरकारले भारत वा अन्य देशबाट आएकाहरुको विवरण संकलन गरी १४ दिन क्वारेन्टाइनमा राख्न देशभरिका स्थानीय तहलाई निर्देशन दिएको छ। तर निर्देशनको पालना स्थानीय तहका प्रमुखहरुले गरेका छैनन्। केही स्थानीय तहले विवरण संकलन गरेर दायित्व पूरा भएजस्तो गरेका छन्। कोरोना भाइरसको संक्रमण विदेशबाट आएकाहरुले नै फैलाउने जोखिम रहे पनि स्थानीय तहका प्रमुखहरु संवेदनशील बनेका छैनन्।

धनुषाकै कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिलाविहारी नगरपालिका, नगराइन नगरपालिका सहितका स्थानीय तहले पनि नामको लागि क्वारेन्टाइन बनाएका छन्। तर भारत वा अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छैन। कतै होटल त कतै विद्यालयमा बनाएका क्वारेन्टाइनहरु खाली छन्। यतिसम्म कि स्थानीय तहका प्रमुखहरु र स्वास्थ्य शाखाका प्रमुखहरु फोन समेत नउठाउने गरेको सर्वसधारणको गुनासो छ।

यस्तै सिरहाको औरही गाउँपालिका–५ स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालयको भवनमा ७ वेडको क्वारेन्टाइन बनाएको छ। तर सबै वेड खाली छ। १० दिनभित्रै गाउँमा सयौं मानिस भारत र खाडी मुलुकबाट आएर खुलेयाम घुमिरहेका छन्।

भारतसँग सिमा जोडिएको गाउँ हो– औरही। जसका कारण यो गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम छ। यहाँका युवाहरुले सीमा क्षेत्रबाट आवतजावत रोक्न गस्ती नै सुरु गरेका छन्। तर गाउँपालिका प्रमुख सिद्धार्थ यादब सम्पर्कविहिन छन्। गाउँमा केही नेता र आफ्ना आसपासेलाई मात्र कर्मचारीहरुले साबुन र मास्क वितरण गरेका छन्।

औरही गाउँपालिका–५ का वडाध्यक्ष दिलिप यादबले पनि प्रमुखले नै कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही गर्न नचाहेको आरोप लगाए। उनले भने, ‘गाउँपालिकाले कम्तिमा गरिब र विपन्नहरुलाई साबुन र मास्क उपलब्ध गराउनु पथ्र्यो। तर अध्यक्षले नै केही गरेनन्।’ वडामा बजेट उपलब्ध नगराउँदा आफूले पनि केही गर्न नपाएको उनको गुनासो छ।

प्रकाशित : २०७६ चैत्र १८, मंगलवार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ