जनकपुरको प्रादेशिक अस्पताल : बिरामी बेडमा छटपटाउँदै, स्वास्थ्यकर्मी निन्द्रामा


जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका २ का मुस्तकिन साफिका १० वर्षीया छोरी रुक्सानालाई सर्पले टोक्यो । मंगलबार बारीमा सर्पदंशको शिकार भएकी उनलाई परिवारका सदस्यले दिउँसो १ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए । तर उनलाई हेर्न चिकित्सक आएनन् ।

झण्डै एक घण्टापछि स्वास्थ्यकर्मीले सलाइन पानी चढाए । त्यसपछि कोही पनि हेर्न नआएको पिता मुस्तकिनले बताए । त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् रक्तअल्पताका बिरामी जितेन्द्र यादव । २२ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाबाट मंगलबारै आएका छन् । उनलाई पनि चिकित्सकले हरेनन् ।

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा तेस्रो बिरामी एक महिला थिइन् । आफ्नो नाम बताउन अस्वीकार गरेकी उनले आफूलाई एकदमै कमजोरी लाग आएको सुनाइन् । तर चिकित्सकले हेर्दै नहरेको उनको गुनासो छ ।

कुनैकुनै बेला स्वास्थ्यकर्मी आउने गरेको र औषधि वा इन्जेक्सन दिन पनि बोलाउन जानु परेको बिरामीहरुले बताउँछन् ।

मस्त निन्द्रामा स्वास्थ्यकर्मी

बिरामीहरुले कसैले हेर्न नआएको गुनासो गरिरहँदा आकस्मिक कक्षमै एक स्वास्थ्यकर्मी भने मस्त निन्द्रामा भेटिए । गालामै पटक-पटक लामखुट्टेले टोक्दा बेलाबेला हात धपाउँथे र फेरि निन्द्रामा मस्त हुन्थे । लामखुट्टेले निकै सताएपछि व्यूँझिए ।

आफ्नो अगाडि हामी उभिरहेको थाहा पाएपछि भने निकै आत्तिए । आफ्नो नाम जगदीश साह बताएका उनले पद खुलाउन मानेनन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। नागेन्द्रप्रसाद यादव भने स्वास्थ्यकर्मी तथा चिकित्सक काममा व्यस्त रहेको बताए । ‘सबै आ-आफ्नो काम गरिरहेका छन्’ उनले भने, ‘बिरामीसँगै स्वास्थ्यकर्मी बसिरहन त सक्दैन रु सबैले राम्रोसँग ड्युटी गरिरहेका छन् ।’

यादवले आकस्मिक उपचारका लागि आउने कुनै पनि बिरामीलाई कुनै किसिमको समस्या हुन नदिने समेत बताए ।

– अनलाइन खबर

प्रकाशित : २०७६ चैत्र २५, मंगलवार २१:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ