कोभिड–१९ विरुद्धको खोप उत्पादन तथा वितरण अति कठिन हुने


 काठमाडौं विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा माइकल रायनले सोमबार खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतिपूर्ण रहेको बताएका हुन् । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार वा भाइरसविरुद्धको खोप अहिलेसम्म बनेको छैन ।

विश्वभरका दुई दर्जन भन्दा बढी कम्पनीले खोपको उत्पादनका लागि काम गरिरहेको बताइसकेका छन् । त्यसमध्ये कम्तिमा तीनवटा सम्भावित खोप अहिले मानवीय परीक्षणको चरणमा छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप अझै कम्तिमा १८ महिना पर रहेको अर्थात डेढ वर्षपछि मात्रै प्रयोगमा आउन सक्ने बताएका छन् । अरु विज्ञले सो समयावधी पनि अति आशावादी भएको बताउने गरेका छन् ।

अहिले सही खोप पत्ता लगाउनमा अनुसन्धानकर्ता लागेका छन् । सही खोप बनेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिने पर्ने डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. रायनले बताए ।

विश्वका अर्बौ मानिसलाई खोपको आवश्यकता पर्न सक्ने भएकाले सोही अनुसारको उत्पादन हुनु पर्ने उनको भनाई छ । सो खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी उनले दिएका छन् ।

सबैलाई र सबै क्षेत्रमा उपयुक्त मात्रामा खोपको वितरण या पहुँच होस् भन्नका लागि डब्लुएचओले काम गरिरहेको उनले बताए । त्यसका लागि विश्वभरका सरकार तथा बिल एण्ड मेल्न्डिा गेट्स फाउन्डेसनसहितका गैरसरकारी दातृ निकायसँग पनि परामर्श भइरहेको डा. रायनले बताएका छन् ।

खोपको वितरणर महामारीको अवस्था र माग अनुसार सबै क्षेत्रमा समान रुपले हुनु पर्ने पक्षमा विश्व स्वास्थ्य संगठनले विगत दुई दशक भन्दा लामो समयदेखि काम गर्दै आएको र कोरोना भाइरसविरुद्धको खोपको वितरण पनि सोही आधारमा हुनु पर्ने उनले बताएका छन् ।

प्रकाशित : २०७७ बैशाख ९, मंगलवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ