विश्वका ९४ प्रतिशत पर्यटकीय गन्तब्यमा घुमघाम प्रतिवन्ध


काठमाडौं । कोभिड १९ का कारण संसारका धेरै होटेल र एयरलाइन्स डुब्दैछन्, लाखौं मानिसले तत्काल रोजगारी गुमाउँदैछन् । किनकी संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गरेको अध्ययन अनुसार अहिले संसारका ९४ प्रतिशत गन्तब्यमा यात्रा प्रतिवन्ध लागेको छ ।

खासगरी कोरोना भाइरसको संक्रमण बढेसँगै संसारका हरेकजसो मुलुकले विदेशी नागरिकको प्रवेशमा प्रतिवन्ध लगाएका छन् । वायुसेवा कम्पनीको व्यवसायिक उडान रोकिएको छ ।

भइरहेका उडान समेत केवल मानवीय उद्दार र कार्गो उडानमा केन्द्रित गरिएको छ । यसले संसारभर पर्यटकीय लगभग ठप्प बनेको यूएनडब्लूटीओले गरेको अध्ययनमा उल्लेख छ । यो अध्ययन ६ अपि्रलसम्मको अवस्थालाई लिएर गरेको संगठनले जनाएको छ ।

तर, त्यस अवधिपछि पनि परिस्थितिमा भने उल्लेख्य सुधार भएको छैन । प्रारम्भिक रुपमा प्रभावित मुलुकबाट आउने मानिसहरुमा मात्र लागेको प्रतिवन्ध अहिले भने विश्वव्यापी बिस्तार भएको छ । यूएनडब्लूटीओले नेपाललाई सम्पूर्ण हवाई उडान प्रतिवन्ध लगाएको मुलुकको सूचीमा राखेको छ । यो सूचीमा विश्वका ५६ देश रहेका छन् । विश्वभर २७ प्रतिशत मुलुकले अन्तराष्ट्रिय उडानमा पूर्ण प्रतिवन्ध लगाएका छन् ।

९० मुलुक प्रवेशमा पूर्ण प्रतिवन्ध

कोभिड-१९ को संक्रमण बढेसँगै संसारमा ९० मुलुकले विदेशी नागरिकको प्रवेशमा पूर्णप्रतिवन्ध लगाएका छन् । थप ४४ वटा मुलुकमा कडा प्रावधानसहित विदेशी नागरिकको प्रवेश खुला गरिएको छ । यसले पनि मानिसको यात्रालाई भने रोकिदिएको छ ।

महामारी फैलन नदिन मुलुकहरुले लिएको उक्त कदमले पर्यटन र यससँग सम्बन्धित गतिविधिलाई भने थला पारिदिएको छ ।

इतिहासकै पहिलो घटना

यूएनडब्लूटीओका अनुसार विभिन्न प्राकृतिक विपत्ती तथा महामारीका कारण पनि यसपट जस्तो कठिन अवस्था पर्यटन उद्योगले भोग्नु परेको थिएन । किनकी यसअघि भाइरसको संक्रमण र फैलावटको निश्चित दायरा थियो ।

यसमा नियन्त्रण गर्दा रोग नियन्त्रणको सुनिश्चितता हुने अवस्था थियो । तर, कोभिडका कारण भने यात्रामा लागेको प्रतिवन्धले लाखौं मानिसको रोजगारी धरापमा परेको यूएनडब्लूटीओका महासचिव जुरब पोलोलिकाशविल्लीले उल्लेख गरेका छन् । यसले गरिबी बढाउने र आर्थिक समस्या निम्त्याउनेतर्फ पनि यूएनडब्लूटीओले सचेत गराएको छ ।

समीक्षा गर्न आग्रह

यूएनडब्लूटीओले मुलुकहरुलाई क्रमशः यात्रा प्रतिवन्धहरुमा समीक्षा गर्न आग्रह गरेको छ । खासगरी सुरक्षित हुने अवस्था सुनिश्चित गरी यात्रा प्रतिवन्ध क्रमशः खुला गर्न समेत संगठनले आग्रह गरेको छ ।

कुन क्षेत्रका पर्यटकीय गन्तब्य कति बन्द ?

अफ्रिका : १०० प्रतिशत

एसिया र एसिया प्यासिफिक :  १०० प्रतिशत

मध्यपूर्व : १०० प्रतिशत

यूरोप : ९३ प्रतिशत

अमेरिकी क्षेत्र : ९२ प्रतिशत

संसारभर चार प्रकारका प्रतिवन्ध

१. सम्पूर्ण सीमा नाका बन्द -आवतजावत बन्द)

२. मुलुक तोकेर गरिएको प्रतिबन्ध

३. सम्पूर्ण वा आंशिक रुपमा भएको उडान प्रतिवन्ध

४. मुलुक भित्र छिर्न दिएपनि क्वारेन्टाइनमा बस्नुपर्ने, भिषामा कडाई, यात्रुलाई स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्ने

प्रकाशित : २०७७ बैशाख १३, शनिबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ