विद्यालय तहको पठन-पाठन जेठको दोस्रो साताबाट संचालन गर्ने तयारी


काठमाडौं।  वैशाख विद्यार्थी भर्ना अभियानको चटारो हुने महिना हो । तर, कोरोना भाइरसका कारण अहिले विद्यालय बन्द छन् । जसका कारण विद्यार्थी भर्ना अभियान सुरु हुन पाएको छैन ।

कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा सार्वजनिक भएको छैन भने कक्षा १०, ११ र १२ को परीक्षा पनि हुन सकेको छैन । जसका कारण नयाँ शैक्षिकसत्र प्रभावित भएको छ । 

२५ वैशाखसम्म लकडाउन भएकाले यो महिनामा शैक्षिकसत्र सुरु नहुने पक्का भएको छ । अब यो वर्ष कसरी शैक्षिक क्यालेन्डर चलाउने भन्ने समस्या भएको छ ।

वैशाखसम्म लकडाउन भए पनि शैक्षिकसत्र प्रभावित नहुने सरकारी अधिकारी बताउँछन् ।

‘लकडाउनले अहिलेसम्म ठूलो क्षति भएको छैन,’ शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक तुलसी थपलियाले भने, ‘नयाँ शैक्षिकसत्र पनि प्रभावित हुँदैन ।’

कक्षा १ देखि ९ सम्म्को नतिजाको तयारी भइरहेकाले जेठको दोस्रो तेस्रो साताबाट कक्षा सञ्चालन गर्दा पनि शैक्षिकसत्र प्रभावित नहुने उनले बताए ।

‘वैशाखसम्म भर्ना अभियान नै हो,’ उनले भने, ‘हामी यही अवधिमा छौँ । तर, त्यतिमै बस्ने कुरा पनि हुँदैन । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएको छ । अब नतिजा निकाल्ने काम सुरू हुन्छ ।’

लकडाउन खुल्नेबित्तिकै भीडभाड नगरी भर्ना सुरु गर्ने उनले बताए । ‘जेठको दोस्रो तेस्रो साताबाट कक्षा सञ्चालन गर्दा पनि शैक्षिकसत्र प्रभावित हुँदैन,’ महानिर्देशक थपलियाले भने, ‘वर्षे र हिउँदे बिदा कटाएर यो वर्षको शैक्षिकसत्र चलाउनुपर्ने अवस्था आएको छ ।’

प्रकाशित : २०७७ बैशाख २०, शनिबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ