नेकपा वृतमा तरंग : “सबै गुटका गुटगत भेला र छलफल जारी “


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरी बस्दै छ । अध्यादेश प्रकरणपछि पार्टीमा बढेको विवाद चर्किदै गएपछि अब विवाद सतहमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेदेखि पार्टी विभाजन गर्नेसम्मका विषय अहिले चर्चामा छन् ।

बुधबार बसेको सचिवालय बैठकले ठोस निर्णय नगरेपनि प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकीएपछि आफुले राजीनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि अहिले नेकपा वृत तरंगित भएको छ ।

आजका लागि तोकिएको बैठकअघि अहिलेपनि सबै गुटका गुटगत भेला र छलफल जारी रहेका छन् ।   शुक्रबार दिनभर र रातिसम्म यस्ता छलफल र भेटघाट भएका छन् भने त्यो क्रम शनिबार बिहान सम्म जारी छ ।

नेताहरुको आपसी भेटघाट र संवादका बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । उनले यसबीचमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रचण्ड र माधवकुमार नेपाललाई भेटिसकेका छिन् ।

बुधबारको बैठकमा औपचारिक रुपमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ ।  शुक्रबार माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुको भेलाले आजको बैठकले स्थायी समिति बैठक बोलाउनु पर्ने तथा बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावलाई थप स्पष्ट गर्नुपर्नेमा जोड दिएको छ । प्रचण्डसमेत उपस्थित सो भेलामा प्रधानमन्त्री ओलीलाई हटाउन थप रणनिति बनाएको बुझिएको छ ।

भेलापछि नेता भीम रावलले प्रधानमन्त्री पक्षधरले सांसदहरुलाई धम्क्याउने र हस्ताक्षर अभियान चलाएकोले आफुहरुले पनि नयाँ रणनिति बनाउने भन्ने विषयमा छलफल भएको बताएका छन् ।

गुटगत भेला र बैठकका बीच शिर्ष नेतृत्वलाई पार्टी नफुटाउन समेत दबाब दिइएको छ । यसरी हेर्दा प्रधानमन्त्री ओलीमाथि चौतर्फी दबाब बढेको देखिएको छ । पार्टीका सबै तहमा अल्पमतमा रहेका ओली संसदीय दलमा पनि ढुक्कसाथ बहुमतमा नरहेको देखिएका बेला नेकपा र सरकार दुवैका लागि आज साँझ बस्ने सचिवालय बैठक निर्णायक देखिएको छ ।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ