कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतबाट धमाधम फर्किँदै नेपाली मजदुर


जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले देशलाई लकडाउन गरेको ४० दिन बित्दैछ। लकडाउन भएकै दिन चैत ११ बाट सिमा नाका पनि सिल गरिएको छ । तर भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन ।

भारतमा ३० हजार बढी कोरोना संक्रमित भेटिसकेका छन् । भारतको विभिन्न शहरमा लाखौं नेपाली मजदुरी गर्छन् । लकडाउनका कारण हातमुख जोड्न पनि मुस्किल भएपछि नेपालीहरू धमाधम स्वदेश ९घर० फर्किदै छन् । तर सिमा नाकामा तैनाथ सुरक्षाकर्मी सुइको समेत पाउदैनन् ।

सिरहाको सिमावर्ती औरही गाउंपालिका ५ का मात्रै पांच मजदुर शनिवार विहान भारतको नयां दिल्लीबाट आइपुगे । दिल्ली कोरोनाको रेड एरिया हो । तर त्यहांबाट औरहीसम्म आइपुगेका उनीहरुलाई सुरक्षाकर्मी कतै भेटेनन् । विहारको लदनीयामा पर्ने मतनाजे नाकाबाट हुंदै विहान ५ बजे औरही आइपुगेको उनीहरुले बताएका छन् ।

घर आउन लागेका थाहा पाएपछि अभिभावकले उनीहरुलाई क्वारेन्टाईन पुग्न भनेका थिए । त्यसैले उनी पांचै जना घर गएनन्, सिधा श्री सुन्दर जनता माविको क्वारेन्टाईन पुगेका छन् । अभिभावकले संयमित नभएको भए औरहीमा कोरोना त्रास बढाउने निश्चित थियो ।

दिल्लीबाट आइपुगेका औरही ५ का रामपुकार यादवले आफुहरुको कारण परिवार र समाज असुरक्षित नहोस् भनेर सिधा क्वारेन्टाइन आइपुगेको बताए । उनले भने, ‘मधुवनी आइपुगेपछि बुवाले फोन गर्नु भएको थियो । उहांले पनि घर नआउन र सिधा स्कूलको क्वारेन्टाइनमा पुग्न भन्नुभयो । त्यसैले पनि घर १४ दिन क्वारेन्टाइनमै बस्ने मनस्थिति बनाइसके।’

क्वारेनटाइनमा आएलगत्तै एउटा कोठा बस्नका लागि उपलब्ध गराएको उनले बताए । ‘अहिले तत्काल कुनै समस्या छैन,’ उनले भने, ‘आज त समयमै खाना र नास्ता ल्याएर दियो । पछि के गर्छ थाहा छैन। यहां आइसकेपछि घरमै छु जस्तो लाग्छ,’ उनले भने ।

‘दिल्लीबाट यसरी आइपुगे’

लकडाउनका बेला दिल्लीबाट घर आइपुग्न भारतीय रुपैया ३७ हजार ९नेरु ५९ हजार २ सय० गाडीले भाडा लिएको उनीहरु बताउंछन् । घर आउनेमा तीन पुरुष, एक बच्चा र एक महिला छन् । उनीहरुमा कोरोनाको कुनै लक्षण देखिएका छैन ।

दिल्लीबाट फर्केर क्वारेन्टाइन पुगेका दिलिप यादवले भने, ‘म त्यहांको एउटा हस्पिटलमा काम गर्थे । कोरोना डरले डाक्टर पनि उपचार गर्न मान्दैन्न । अस्पतालको स्थिति हेर्दा डर लाग्यो । म पनि काम छाडे । केहि दिन कोठामा बिताए । तर खान पनि समस्या भएपछि एउटा गाडी रिजर्भ गरे । प्रशासनबाट पास बनाए । त्यही गाडीमा लदनियांसम्म आइपुगे।’

लदनियांबाट पैदलै मतनाजे हुंदै विहान ५ बजे बोर्डर पार गरेको उनले सुनाए । ‘भारतमा एसएसबीले रोकेको थियो,’ उनले भने, ‘धेरै बिन्ती गरेपछि छाड्यो । उनीहरु त मधुवनी पठाइदिन्छु भन्दै थियो।’ उनले भारतीय एसएसबी छाडेलगत्तै बोर्डर पार गरी क्वारेन्टाइनसम्म आइपुग्दा नेपाली प्रहरी कतै नभेटेको बताए।

लुकिछिपी १६ सय २६ जना नेपाल भित्रिए

चैत ११ मा सिमा नाका सिल भएदेखि प्रदेश २ मा १६ सय २६ जना भारतबाट स्वदेश फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भारतबाट लुकेर सप्तरीमा १५० जना, सिरहामा १७९ जना, धनुषामा १०३ जना, महोत्तरीमा १५९ जना, सर्लाहीमा ३३९ जना, रौतहटमाा २६२ जना, बारामा ९३ जना र पर्सामा ३४३ जना प्रवेश गरेका छन् । यो स्थानीय तहले उपलब्ध गराएको तथ्यांक हो ।

मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नै स्थानीय तहले उपलब्ध गराएको तथ्यांकमा भारतबाट लुकिछिपी आएका धेरै ब्यक्ति छुटेका छन् । लुकेर बोर्डर पार गरी घर आएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको सचिव घिमिरेको भनाई छ ।

प्रकाशित : २०७७ बैशाख २१, आईतवार ०७:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ