राहतको दालमा कालोबजारी गर्नेहरु ६३ लाख ८२ हजार धरौटी बुझाएर रिहा


बारा, २२ वैशाख । राहतको दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका तीन उद्योगका सञ्चालकसहित छजना ६३ लाख ८२ हजार रुपैया धरौटी बुझाएर रिहा भएका छन् ।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज परवानीपुर–४ चैनपुर बारा सञ्चालक वीरगंज महानगरपालिका–६ का मोहनलाल अग्रवालले १८ लाख ५० हजार धरौटी बुझाएका छन् । यस्तै, उनको उद्योगका प्रतिनिधि भारतीय नागरिक सुनिल शर्माले एक लाख ५० हजार बुझाएका छन् ।

त्यस्तै श्री कृष्ण आधुनिक दाल उद्योग छाता पिपरा–९ बाराका सञ्चालक वीरगंज महानगरपालिका–६ का पवनकुमार साहले १९ लाख १७ हजार, उद्योगका प्रतिनिधि भारतीय नागरिक सुरेश प्रसादले एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएका छन् ।

महावीर ओभरसिज प्रालि परवानीपुर–४ लिपनीमाल, बाराका सञ्चालक वीरगंज महानगरपालिका–१० का मुक्तिकुमार अग्रवाल २१ लाख ६५ हजार, उद्योगका प्रतिनिधि धनुषाको मुखियापट्टी मुसहरमनिया गाउँपालिका–४ का सन्तोषकुमार झाले एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएका छन् ।

लकडाउनको मौका छोपी उनीहरु दालमा कालोबजारी गर्दा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा उनीहरु ६३ लाख ८२ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका तीनै उद्योगका सञ्चालकलाई बैशाख १४ गते प्रहरीले पक्राउ गरेको थियो । प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने मुसुरोको दाल लकडाउनको मौका छोपी ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रकाशित : २०७७ बैशाख २२, सोमबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ