सिरहामा कोरोना त्रास : बर्थिङ सेन्टरमा सुत्केरी गराउन जाने घटे


सिराहा। नरहा गाउँपालिका–५ तिलकपुर मुसहरीकी श्याम सदा गत ९ वैशाखमा घरमै सुत्केरी भइन् । विपन्न दलित मुसहर समुदायकी उनले यसअघि पनि घरमै दुई सन्तानलाई जन्माएकी थिइन् । उनी मात्र होइन, मुसहरीका रेवनी सदा, दशनी सदा, कारी सदा र प्रमिला सदा घरमै सुत्केरी भए । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिराहामा गर्भवती महिला प्रसूति गराउन स्वास्थ्य केन्द्र जान छाडेका छन् । लकडाउनअघि धेरै महिला स्वास्थ्य केन्द्रमा पुग्ने गरे पनि डेढ महिनायता बर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्यामा कमी आएको छ । 

  • लकडाउनकै वेला घरमा सुत्केरी भएकी श्याम सदा नवजात शिशुका साथमा

कोरोनाको संक्रमणको डरले घरमै प्रसूति गराउनेको संख्या बढ्न थालेको छ । सिराहा नगरपालिका, कल्याणपुर नगरपालिका, विष्णुपुर गाउँपालिका, अर्नामा गाउँपालिका, नरहा गाउँपालिकामा सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा लकडाउनको अवधिमा प्रसूति गराउनेको संख्यामा कमी आएको छ । लकडाउन सुरु हुनुअघि सिराहा अस्पतालमा तीन सय २९ जना प्रसूति गराउन पुगेका थिए । तर, लकडाउनपछि प्रसूति गराउनेको संख्यामा कमी आएको अस्पतालले जनाएको छ । गत पुसमा ३९, माघमा ४०, फागुनमा २७ र चैतमा २० जनाले मात्रै प्रसूति गराएको सिराहा अस्पतालसँग तथ्यांक छ । 

नरहा गाउँपालिका–४ बर्छवामा एउटा बर्थिङ सेन्टर छ । चालू आर्थिक वर्षको चैतसम्म २० र गत आर्थिक वर्षमा २७ जनाले प्रसूति गराएको तथ्यांक सेन्टरसँग छ । चालू आर्थिक वर्षमा ६ जना घरमै सुत्केरी भएका छन् । नरहा गाउँपालिकामा चैतमा एकजना गर्भवती महिला मात्र प्रसूति गराउन स्वास्थ्य केन्द्र पुगेका थिए ।

विष्णुपुर गाउँपालिकामा चैतसम्म ५१ जना बर्थिङ सेन्टर पुगेर सुत्केरी भएका छन् । लकडाउन अवधिमा सातजना सुत्केरी गराउन आएको स्वास्थ्य संयोजक रामसेवक रायले बताए । ‘सरदर १६/१७ जना आउने गरेकोमा अहिले कमी आएको छ,’ रायले भने, ‘डरले कतिपय गर्भवती बर्थिङ सेन्टर आउन सकेका छैनन् ।’

सिराहाकोे खिरौनामा रहेको बर्र्थिङ सेन्टरमा चैतमा २३ जनाले प्रसूति गराएका छन् । अर्नामा गाउँपालिकामा दुईवटा बर्थिङ सेन्टर छ । दुवै बर्थिङ सेन्टरमा एक सय ४७ जनाले प्रसूति गराएका छन् । फागुनमा २२ र चैतमा १५ जना मात्रै सुत्केरी गराउन आएको अर्नामा गाउँपालिकाका स्वास्थ्य संयोजक रामकुमार महतोले बताए ।

कोरोना भाइरसको संक्रमणको जोखिमले गर्दा प्रसूति गराउन स्वास्थ्य केन्द्र पुग्नेको संख्यामा कमी आउन थालेको चिकित्सकहरूको भनाइ छ । नवराजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक द्वारिकलाल कामतीले गर्भवती महिलाहरू नियमित चेकजाँच र प्रसूति गराउन जाने क्रम न्यून भएको बताए । सिराहा अस्पतालका निमित्त प्रमुख डा.दिलीप सदा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेको संख्यामा निकै कमी आएको बताउँछन् । ‘गाह्रो हुनेहरू अस्पताल आउँछन्,’ सदाले भने, ‘घरमै सुत्केरी गराउनेमा दलित समुदायका बढी छन् ।’

घरमै सुत्केरी गराउँदा तत्काल दिनुपर्ने सुईबाट शिशु र आमा वञ्चित हुने गरेका छन् । घरमै सुत्केरी भएपछि आमालाई दिइने ‘अक्सिटोसिन इन्जेक्सन’बाट उनीहरू वञ्चित हुने भएकाले कालान्तरमा पाठेघरमा समस्या आउन सक्ने सिराहा अस्पतालका चिकित्सक डा. अखिलेश चौधरीले बताए । ‘बढी रगत नबगोस् र पाठेघर खुम्चिन सजिलो हुन इन्जेक्सन दिनुपर्छ,’ उनले थपे । अरूवेला प्रसूति गराउन सामान्य सवारीसाधनमा अस्पताल आउने गरे पनि अहिले एम्बुलेन्समा आउनुपर्ने बाध्यताले गर्दा घरमै प्रसूति गराउने बढेको उनको भनाइ छ ।

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ