प्रदेश २ : बारा-पर्सा औद्योगिक करिडोरका ३ ठूला उधोग खोल्ने तयारी


वीरगञ्ज । सरकारले उद्योग सन्चालन गर्न अनुमति दिने भएपछि बारा–पर्सा औद्योगिक करिडोरका ३ ठूला उद्योग संचालनमा ल्याउने गृहकार्य सुरु भएको छ । 

लकडाउन सुरु भएदेखि बन्द रहेका बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल सन्चालन गर्ने गृहकार्य थालिएको हो । ४ सय ५० कर्मचारी रहेको सूर्य नेपालले दुई शिफ्टमा ८०/८०, १५ सय कर्मचारी रहेको जगदम्बा स्टिलले एक शिफ्टमा २ सय ५० र हुलास स्टिलले पाइप बनाउने प्लान्टमा १ शिफ्टमा १० मजदुर मात्र खटाउने गरी अनुमति लिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ बाराका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य बेनी प्रसाद तिमल्सेनाले आवश्यक सर्तकता अपनाई कम जनशक्ति प्रयोग गरेर शिफ्टमा उद्योग चलाउने तयारी भएको जानकारी दिनुभयो । त्यसका लागि व्यवस्थापनले जिल्ला प्रशासन कार्यालयबाट उद्योग पुन:सन्चालनको अनुमति लिईसकेको जानकारी दिदै उहाँले भोलीबाट तीनै वटा उद्योग सञ्चालनमा आउने बताउनुभयो ।

जारी लकडाउनको कारण बारा पर्सा उद्योग करिडोरका करीब ७० प्रतिशत उद्योग बन्द छन् । झण्डै ४५ हजार मजदुर बेरोजगार भएका छन् । खाद्यान्न, औषधि तथा केही प्याकेजिङ्ग उद्योग बाहेक अधिकांश उद्योग बन्द छन् । चालु अवस्थामा रहेका उद्योगहरु पनि पूर्ण क्षमतामा सन्चालन भएका छैनन् । अधिकांश उद्योगलाई कच्चा पदार्थको अभाव छ ।

करिडोरको दोश्रो बहुराष्ट्रिय कम्पनी डाबर नेपालको औषधिजन्य बस्तु तर्फको एउटा सानो प्लान्ट मात्र सन्चालनमा छ । १५ सय मजदुर मध्ये त्यसमा पनि २० जना मजदुर मात्र कार्यरत छन् । 

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ