काेराेना जितेर घर फर्किएकालाई परिवारमै बस्ने व्यवस्था मिलाउन मन्त्रालयकाे आग्रह


काठमाण्डाै । सरकारले कोरोना भाइरस (काेभिड–१९) लाई जितेर घर फर्किएकालाई परिवारमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही ठाउँमा कोरोना सङ्क्रमणपछि निको भएर फर्किएकालाई पनि घर परिवारबाट टाढा राख्ने गरेको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनालाई जितेर घर फर्किएकाले भाइरस सार्छन् भन्ने भ्रममा नबस्न आग्रह गर्नुभयो । उहाँले भाइरसलाई जितेर फर्किएकाको शरीरमा कुनै सङ्क्रमण सार्ने भाइरस नहुने र उनीहरु सामान्य जीवनयापनमा फर्किसकेकाले परिवारमा नै बस्ने वातावरण बनाउन सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

कोरोना भाइरसको भय र त्रासका कारण समाजमा हल्ला र मिथ्या फैलिएकाले त्यस्तो हल्लाकोपछि लागेर विभेद नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले कोरोनाबारे केही जिज्ञासा भए मन्त्रालयमा सम्पर्क गर्न पनि भनेको छ। यस्तै मन्त्रालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बनाइएका क्वरेण्टीनलाई बालमैत्री बनाउन पनि आग्रह गरेको छ ।

नेपालमा अहिलेसम्म एक सय १० जनामा सङ्क्रमण पुष्टि भएकाे छ । सबैभन्दा धेरै ३२ जना उदयपुरमा सङ्क्रमित भएका छन् । पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा ५, काठमाण्डाैमा ५, कैलालीमा ४, राैतहटमा ३, बागलुङमा २, बारामा २, चितवनमा २, झपामा २, भाेजपुरमा १, कञ्चनपुरमा १, रुपन्देहीमा १ र सर्लाहीमा १ जना सङ्क्रमित भेटिएका छन् । 

सङ्क्रमितमध्ये ३१ उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित : २०७७ बैशाख २८, आईतवार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ