जानकी मन्दिरका दुबै महन्थमाथि कारवाही हुनुपर्छ : नेता यादव


जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य नविन यादवले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र रोषण दासमाथि कारबाही गर्न माग गरेका छन् । नेता यादवले दुबै महन्थ मन्दिरमा भ्रष्टाचार गरेको भन्दै छानविन गरी कानून बमोजिम कारबाही गर्नुपर्ने सम्बन्धित निकायसंग माग गरेका हुन् ।

उनले महन्थद्वयले मन्दिरको गरगहना र जग्गा बेच्नुका साथै विवाह पञ्चमीसहितका उत्सवका लागि भारतीय व्यापारीले वर्षेनी दिदैं आएको ठूलो रकम अनियमितता गरेको दावी गरेका छन् । उनले टुडे खोजसंग भने, ‘महन्थ रामतपेश्वर र उत्तराधिकारी महन्थ रोषणको मिलोमतोमै मन्दिरमा बर्षेनी करोड भ्रष्टाचार हुन्छ ।

तर आफू बच्नकै लागि एकले अर्कामाथि आरोप लगाएका छन् ।’ महन्थ रामतपेश्वरले पहिले आरोप लगाउने र पछि कुरा फेरेर भ्रष्टाचारमा आफ्नो संलग्नताको आफै खुलासा गरेको नेता यादवको तर्क छ ।

दुबै महन्थलाई हटाएर सरकारले मन्दिरलाई ट्रष्टमा तत्कालै लग्नुपर्ने पनि उनले ओल्याए । ‘जानकी मन्दिरकै कारण आज जनकपुर विश्वमा प्रख्यात छ’, उनले भने, ‘तर यहांका केहि नेता र नागरिक समाजले पनि अपराध गर्ने महन्थद्वयकै बचाउमा लाग्नु ठूलो विडम्बना हो ।

नेता र नागरिक समाजले महन्थमाथि कारवाही हुनुपर्ने पक्षमा उभिनुपर्छ ।’ विगत लामो समयदेखि महन्थद्वयले केहि नेता र माफियाहरुसंग मिलेर जानकी मन्दिरको सम्पति लुटिरहेको नेता यादवको भनाई छ । उनी भन्छन्, ‘महन्थले गर्ने अपराधको विरोध गर्दा धम्काउने र हत्यासम्म गर्न लगाउंछन् ।

यसरी कानुनलाई हातमा लिनेहरुमाथि किन कारवाही नहुने ? सरकार गम्भिर हुनुपर्छ ।’ नेता यादवले मन्दिरका महन्थद्वयले गरेको अपराधको छानविन गर्न सरकारले चासो नदेखाए जनकपुरका यूवाहरु आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । उनले भने, ‘मन्दिरमा भएको भ्रष्टाचारको तत्कालै सरकारले छानविन गरी दोषीहरुलाई कारवाही गर्नुपर्छ ।’

प्रकाशित : २०७७ बैशाख २९, सोमबार ११:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ