चामल खरीदमा दोस्रो पटक पनि टेण्डर लागेन


काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि माग गरेको बोलपत्र दोद्रो पटक पनि दर्ता भएन। कम्पनीले तेस्रो पटक बोलपत्र आह्वान गर्ने तयारी थालेको छ।

यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन नपरेको कम्पनीले जनायो। पछिल्लो बोलपत्र आह्वान गरेको १९ दिन हुँदा पनि खरीद प्रक्रिया शुरु हुन सकेको छैन। कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो । उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः यही वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान ग¥यो । उक्त अवधिमा दुई जनाको आवेदन परे पनि अन्तिम दिन सम्पर्कमा नआउँदा चामल खरीद अन्योलमा परेको कम्पनीले जनाएको छ ।

दोस्रो पटकको बोलपत्रमा समेत चामल खरीदको प्रक्रिया शुरु हुन नसकेपछि कम्पनीले बजारको अवस्थालाई अध्ययन गरेर पुनः बोलपत्र आह्वानको तयारी गरेको छ । तेस्रो पटक बोलपत्र आह्वानको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार लकडाउनका कारण बजारमा खाद्यान्न मूल्य वृद्धि भएको र पुरानो दरमा कुनै पनि संस्था तथा व्यक्तिले आवेदन दर्ता नगराएपछि बजारको अवस्था अध्ययन गरेर पुनः बोलपत्र आह्वान गरिने तयारी भएको हो ।
सम्भवतः एक दुई दिनमा नै मूल्यसम्बन्धी अध्ययन सकेर बोलपत्र आह्वान गरिने कम्पनीले जनाएको छ। कम्पनीले सात कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज, धनगढी तथा शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरेको हो । काठमाडौँसहित १४ जिल्लामा कम्पनीसँग चामल र धान (चामल बन्ने अनुमान) दुवै गरी हाल अठार हजार १ सय ३८ मेट्रिक टन चामल मौज्दात छ ।

प्रकाशित : २०७७ बैशाख २९, सोमबार १४:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ