सिरहाको मौवाही विद्यालयमा करोडौं भ्रष्टाचार, प्रअलाई कारवाही गर्न स्थानीयको माग


लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित जनता नमुना माध्यमिक विद्यालय मौवाहीमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । प्रधानाध्यापक रामपृत यादबले विद्यालयमा आएको विभिन्न शिर्षकको रकम अनियमितता गरेको आरोप स्थानीयले लगाएका हुन् ।

स्थानीयले सोमवार विद्यालयमै पत्रकार सम्मेलन गरी प्रधानाध्यापक यादबमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन् । विद्यालयको भवन निर्माण, बाउन्ड्रीवाल निर्माण, कम्यूटर खरिद र विविध शिर्षकको बजेटमा प्रधानाध्यापक यादबले अनियमितता गरेको स्थानीयको आरोप छ।

विद्यालयको करिब करोडौं रुपैया उनले अनियमितता गरेको स्थानीयले दावी गरेका छन् । विद्यालयमा २०७३/७४ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयले दुई वटा भवन निर्माणका लागि २४/२४ लाखका दरले ४८ लाख रुपैया बजेट उपलब्ध गराएको थियो । भवन निर्माण त गरेको छ । तर स्टिमेट अनुसार काम भएको छैन । उक्त भवनमा स्टिमेट अनुसार ६ वटा पिलर कम छ ।

साथै भवनको प्लास्टर र रंगरोगन समेत गरिएको छैन । ‘भवनमा दुई वटा सिढी राख्नुपर्ने थियो’, सोही ठाउँ घर भएका जनता समाजवादी पार्टीका नेता दिपेश यादबले भने, ‘तर सिढी एउटा मात्र निर्माण गरेको छ ।’ प्रधानाध्यापक यादबले कागजमै स्टिमेट अनुसार काम भएको मुल्यांकन गराएर भ्रष्टाचार गरेको उनले आरोप लगाए । भवन निर्माण पनि कानूनलाई लत्याएर आफैले गरेको उनको भनाई छ । यस्तै तत्कालित जिल्ला शिक्षा कार्यालयकै बजेटले अर्को भवन निर्माण गर्न ३८ लाख रुपैया बजेट दिएको थियो ।

त्यो भवन पनि मापदण्ड अनुसार निर्माण नगरी ठूलो रकम अनियमिता गरेको देखिएको छ । भवनमा न रंगरोगन गरिएको छ, न प्लाष्टर । ‘भवनमा ढोका समेत लगाइएको थिएन’, पत्रकार सम्मेलनमा नेता यादबले भने, ‘४÷५ दिन अगाडी प्रधानाध्यापकलाई भेटेर आर्थिक अनियमिता गरेको भन्दै पत्रकार सम्मेलन गर्ने बताएपछि हतार हतारमा ३ दिनअगाडी ढोका लगाइयो ।’ उक्त विद्यालयलाई प्रदेश सरकारले नमूना घोषणा गरेको छ । नमूना भएपछि डेढ करोड रुपैया बजेट विद्यालयमा आयो । तर ति रकममा पनि प्रधानाध्यापक अनियमिता गरेका छन् ।

नमूना घोषणा भएपछि आएको डेढ करोड बजेटमध्ये ६५ प्रतिशत पूर्वाधारमा, २५ प्रतिशत शैक्षिक गतिविधिमा र १० प्रतिशित रकम व्यवस्थापनमा खर्च गर्नुपर्ने हुन्छ । तर मापदण्ड बमोजिम प्रधानाध्यापकले खर्च गरेका छैन । नेता यादबले भने, ‘५७ लाखमा भवन र विद्यालयको बाउन्ड्रवाल निर्माण गरेको प्रधानाध्यापकले भनिरेका छन् । तर भवन अझै अधुरो छ । निर्माण पुरा भएको छैन ।’

बाँकी रकम कुन शिर्षकमा खर्च गरेको विवरण प्रधानाध्यापकले दिन चाहेका छैन– उनले थपे । यस्तै विद्यालयमा शिक्षा विभागले कम्यूटर खरिदका लागि २७ लाख रुपैया उपलब्ध गराएको थियो । तर एउटै कम्यूटर खरिद नगरी प्रधानाध्यापक अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिकै सदस्यहरुले खुलासा गरेका छन् । एक सदस्यले भने, ‘प्रधानाध्यापक यादबले विद्यालयको खातामा रुपैया नै छैन भन्छन् । तर एउटै कम्यूटर खरिद गरेका छैन ।

अनी कहाँ गयो रुपैया भनेर सोध्दा अनेक बहाना बनाउँछन् ।’ आर्थिक अनियमिता गरेको विषयमा छानविन गर्न सम्बन्धित निकायसँग स्थानीय र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले माग गरेका छन् । उनीहरुले छानविन गरी व्यापक अनियमितता गर्ने प्रधानाध्यापक यादबमाथि कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयले लगाएको आरोपको विषयमा प्रधानाध्यापक यादबसँग बुझ्न प्रयास गर्दा सम्पर्क भएन । उनी विद्यालयमा महिनामा १०/१५ दिन पनि नआउने गरेको स्थानीय बताउँछन् । स्रोतका अनुसार उनले संचालन गरेको विएससी नर्सिङ कलेजमा बढी समय विताउँछन् ।Chat Conversation EndType a message…

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ