रातको समयमा भारतीय प्रहरीले १५ नेपालीलाई सीमा पार गरायो


मोरङ । भारतको दिल्लीबाट जोगवनी आइपुगेका १५ जना नेपालीलाई भारतीय सुिरक्षाकर्मीले मध्यरातमा नेपाल प्रवेश गराइदिएका छन्  । 

भारतीय सुरक्षाकर्मीले सोमबार राति १५ जना नेपालीलाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइदिएका हुन् । दिल्लीबाट विभिन्न साधनको प्रयोग गरी जोगवनी आइपुगेका उनीहरुलाई मध्यरातमा भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गराएको हो ।

त्यसरी आइपुग्नेमा मोरङ, सुनसरी र झापा ठेगाना भएका युवकहरु रहेका छन् । दिल्लीबाट पैदल र ट्रकको सहायतामा आउने ११ जना छन् । उनीहरुले दिल्लीबाट रानी आइपुग्न ११ दिन लागेको बताए । रानी आइपुगेपछि राति भारतीय प्रहरीले नेपाल पठाइदिएको उनीहरुले जानकारी दिए ।

उनीहरुमध्ये सुनसरीको इटहरी उपमहानगरपालिका–१५ का पृतम चौधरी र जितेन्द्र चौधरी, गढी गाउँपालिका–१ का भगवान चौधरी, धिरज चौधरी, सुनिल चौधरी, गोविन्द चौधरी र रामहरी चौधरी रहेका छन् । इनरुवा नगरपालिका–७ का नविन चौधरी, धरान उपमहानगरपालिका–२० का मंगलसिंह तामाङ रहेका छन् । त्यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का सुशान माझी र पथरी शनिश्चरे नगरपालिका–८ का सुदीप चौधरी रहेका छन् । 

चारजना भने विहारको छप्राबाट साइकलमा चार दिन लगाएर आएका हुन् । उनीहरु झापाको कन्काई नगरपालिका–५ का गणेश सुवेदी र पजुन मुखिया तथा शिवसताक्षी नगरपालिका–७ का विकास कुमार सुनुवार र मदन किस्कु हुन्् । नेपाल प्रवेश गरिसकेका कारण उनीहरुलाई अहिले प्रहरीले रानीमा रोकेर राखेको छ ।  
भारतबाट राति नेपाल भित्रिएका १५ जनालाई सम्बन्धित पालिकामा पठाएर क्वरेण्टीनमा राख्ने तयारी भइरहेको मोरङका प्रमुखद जिल्ला अधिकारी मनोज भुजेलले जानकारी दिनुभयो । 

झापा र सुनसरीका युवालाई ती जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित पालिकालाई सिफारिसु सहित लिन आउन भनिएको र मोरङकाहरुको हकमा क्वरेण्टीनमा पठाइने भुजेलले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ