कोरोना संक्रमित भेटिएपछि सिरहाको एउटा गाउं सिल गरियो, सेना परिचालन !


रामभरोसी यादब, सिरहा । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको छ । संक्रमण पुष्टि भएपछि गाउँपालिकाको समन्वयमा गाउँ सिल गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताए । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले संक्रमित भेटिएको गाउँ क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि नै घरबाट ननिस्किन सचेत गराउँदै माइकिङ गर्न थालिएको बताए ।

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईं का अनुसार आइतबार बिहानदेखि टोली गाउँ पुगेर थ्रोट स्वाब संकलन गरिने बताए । उनले संक्रमित गाउँ फर्किएदेखि नै सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम पनि गरिने बताए ।

गत २९ र ३० वैशाखमा जिल्लाका आठ ठाउँमा पिसिआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएका एक सय ६८ मध्ये शनिबार साँझसम्म १९ जनाको रिपोर्ट आएको छ । त्यसमा १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । प्रदेश २ को सिराहाबाहेकका सबै जिल्लामा यसअघि नै कोरोना संक्रमित भेटिए पनि सिराहामा भने शनिबार मात्रै पहिलो संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक अन्देश्वर चौधरीका अनुसार संकलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । २८ गत गते फागुनमा मलेसियाबाट फर्किएका उनको ३० वैशाखमा पिसिआरका लागि स्वाब संकलन गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिनारायण चौधरीका अनुसार उनको अवस्था सामान्य रहेको बताएको छ ।

संक्रमण पुष्टि भएसँगै खेतमा काम गरिरहेका उनलाई घरमा बोलाएर एम्बुलेन्समार्फत धनगढीमाई नगरपालिका– ११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमितका श्रीमती, तीन छोराछोरी र वृद्धा आमालाई घरमै क्वारेन्टाइनमा राखिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताए ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ