विदेशमा रहेका सबै नेपालीलाई देश ल्याउन सम्भव छैन : प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्राथमिकता हेरेर विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउन सम्भव नहुने बताएका छन् ।

संसदको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले राज्यसँग उपलब्ध साधनस्रोतबाट बाहिर रहेका नेपाली ल्याउँदा धान्न नसक्ने प्रष्ट पारेका हुन् । प्राथमिकता हेरेर नेपाल फर्काउनै पर्नेलाई मात्रै स्वदेश ल्याउने बताउँदै ओलीले सबैलाई फर्काउन सम्भव नरहेको जिकिर गरे ।

‘यदि ४०–४५ लाख युवालाई ल्याउने हो भने हाम्रा सबै जहाज प्रयोग गर्दा हाम्रा सबै युवाहरूलाई देशभित्र ल्याउँदा कति समय लाग्छ, मौखिक हिसाब गर्न अंकगणितमा अलि कमजोर छु, हामीसँग २–४ जहाज होला, ती जहाज लगातार उडायौँ भने कति समय लाग्छ? यो सहज विषय होइन,’ ओलीले भने ।

अमेरिका, अस्ट्रेलिया, कतारजस्ता देशले डेढ सय, अढाई सय मान्छे फिर्ता लगेजस्तो नेपालीलाई ल्याउन सजिलो नहुने ओलीले बताए ।

‘कतारले विमान चार्टर्ड गरेर एक सय मान्छे लगेजस्तो होइन, कतारमा चार लाख युवा कतारमा छन्, कतारले १ सय लानु र हामीले चार लाख मान्छे ल्याउनु एउटै कुरा होइन,’ ओलीले भने ।

उनीहरूलाई क्वारेन्टाइनमा राख्ने जनशक्ति अभाव हुने ओलीको तर्क छ। ‘चार लाखको व्यवस्थापन केले गर्छ, जनशक्ति नै बाहिर छ, अनि केले गर्छ ?,’ ओलीको प्रतिप्रश्न छ ।

देश फर्किन नदिने भनेको नभइ ल्याउनै पर्ने स्थितिलाई मात्रै फिर्ता ल्याइने उनले बताए । ल्याउनै पर्ने मान्छेको हिसाब सरकारले गरिरहेको ओलीको भनाइ छ ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ