गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली घर फर्किए


 धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् ।

२ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।

कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । उनले भने, ‘हामीले सम्बन्धित स्थानीय तहमा पठाइरहेका छौं ।’

प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपालभित्रिरहेका छन् । ‘दार्चलाको नाका हुँदै ७ गते ३१९जना आएका थिए, त्यसपछि आएनन्’ दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर बिष्टले भने, ‘आएका सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’

बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना आएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । ‘हामीले सिमामा पुगेकालाई उद्धार गरिरहेका छौँ’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि कोही आएका छैनन् । ’

प्रकाशित : २०७७ जेष्ठ १३, मंगलवार २०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ