जनकपुरमा आफ्नै मेयरविरुद्ध १८ जना वडा अध्यक्षहरुले बुझाए ज्ञापन–पत्र !


जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेयरले जनताको भावना अनुकूल काम गर्न नसकेको भन्दै आफ्नै मेयरविरुद्ध वडाध्यक्षहरुले ज्ञापन–पत्र बुझाएका छन् ।

जनकपुरधाम उपमहानगर पालिकाका १८ जना वडाध्यक्षहरुले हस्ताक्षरसहित मेयर लालकिशोर साहविरुद्ध जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

मेयर लाल किशोर साहले यस्तो विषम परिस्थितिमा पनि आवश्यकता अनुसार नगरभित्र क्वारेन्टाइन निर्माण गर्न नसकेको भन्दै तत्काल ५ सय शैयाको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्न दबाब स्वरूप ज्ञापन–पत्र बुझाएका हुन् ।

मेयर साहले एकलौटी रुपमा नियम र कानून विपरित काम गर्दै आएको आरोप लागउँदै वडाध्यक्षहरुले नगरभित्र एउटा छुट्टै रियल टाइम पीसीआर मेसिन मगाउनुपर्ने समेत आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

जटही नाकामा पालिकाभित्र आउनेहरुको लागि भोजन र यातायातको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने पनि ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन–पत्रको पूर्ण पाठः

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित अहिले विश्वव्यापीरुपमा महामारी कोरोना भाइरस (कोभिड १९) ले आतंक फैलाइरहेको सर्वविदित्तै छ । आफ्नो स्तरबाट संघीय–प्रदेश सरकार समेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अथक कार्यहरु गरिरहेको पनि सबैलाई थाहा भएकै हो ।

पछिल्लो समय भारतबाट धनुषा जिल्लाका विभिन्न पालिकाहरुमा सर्वसाधारणहरु सीमा नाकाबाट आउने क्रम गत ४ गतेबाट सुरु भएपछि अहिलेसम्म हजारौँ व्यक्तिहरु प्रवेश गर्दैछन्, भने कोरोना संक्रमितहरुको संख्या समेत बढ्दै गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका भित्र पनि भारतमा अध्ययन अध्यापन, मजदुरी लगायतका कार्यहरु गर्न गएकाहरु लामो समयको बन्दाबन्दीको कारण स्थगितको समयमा सबैजसो फर्किरहेका छन् ।

यस अवस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि फर्किनेहरुलाई संघीय सरकारको प्रवाधान अनुसार क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँच गराई मात्र घर फर्किन अनिवार्यता गरेको छ । यस नगर भित्र आवश्यकता अनुसारको क्वारेन्टाइनको निकै अभाव रहेको र भएका क्वारेन्टाइन पनि अव्यवस्थित, असुविधाजन्य तथा पर्याप्त छैन ।

त्यस्तै पीसीआर चेकजाँचको मेसिन समेत पटक–पटक बिग्रिने गरेको हुनाले तत्कालै तपसिल बमोजिमको क्वारेन्टाइन स्थापना लगायतका कार्यहरु गर्न यथाशीघ्र माग गर्दछौँ ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई बारम्बर मौखिक रुपमा र विभिन्न पटकको डेलिगेसन मार्फत पनि गुनासो तथा जानकारी गराउदाँ समेत प्रमुख श्री लालकिशोर साहले आफूखुसी कार्यपालिका बोर्डको वैठक समेत नबसी कार्य गरेको पाइएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई दृृष्टिगत गरी आवश्यकता अनुसारको क्वारेन्टाइन समेत निर्माण नगर्नु÷गराउन लज्जाष्पद तथा दुःखद रहेको छ ।

जनकपुरधाममा दिनानुदिन भारतबाट आउनेहरुको चाप लागातार बढ्दै जानु प्रति हामी अति नै गम्भीर र चासो समेत बढेको छ । त्यसैले तत्कालै केहि कार्यहरु अनिवार्यरुपमा गर्नुपर्ने अपरिहार्यता खड्किएको छ ।

स्मरण गराउनु चाहन्छौं कि जनकपुरधाम जस्तो जनघनत्व भएको नगरीमा अहिलेसम्म दुई ठाउँमा गरी जम्मा ६० शैय्याको मात्रै क्वारेन्टाइन हुनुले पनि हामी कति दुरदर्शी छौँ यसले पनि धेरैथोक प्रमाणित गराउछ ।

तल उल्लेखित तपसिल बमोजिमका माँगहरु तत्कालै सम्बोधन नभएमा उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी स्वयं नगर प्रमुख तथा सरोकारवालले लिनुपर्ने यसै ज्ञापन–पत्र मार्फत जानकारी गराउदछौँ ।

तपसिलः

१. क्वारेन्टाइन ५ सय शैय्याको स्थापना वा प्रत्येक वडामा क्वारेन्टाइन स्थापना तत्कालै गर्नुपर्ने ।

२. जनकपुरधाम उपमहानगरवासीका लागि एक थान रियल टाइम पीसीआर मेसिन (ठूलो) जडान गर्नुपर्ने ।

३. जटही नाकाभित्र पालिका भित्र आउनेहरुलाई भोजन र यातायातको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने ।

यी माँगहरु यथाशीघ्र सम्बोधन नभए हामी बाध्य भएर रचनात्मक विरोध जाने समेत यसै मार्फत जानकारी गराउदछौँ ।

बोधार्थः

१. जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय

२. प्रदेश सरकार, प्रदेश नम्बर २

प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ