बलवा क्वारेन्टाईनमा पीसीआर परिक्षण बिना नै घर फर्काइदै, आझ कोरोना संक्रमण बढने सम्भावना


जनकपुरधाम । पीसीआर टेस्ट आभावका कारण महोत्तरीको बलवा नगरपालिकामा कोरोना संक्रमण फैल्न सक्ने सम्भावना बढेको छ ।

बलवा नगरपालिकाले निर्माण गरेको पालिका भित्रका ४ वटै क्वारेन्टाईनमा रहेका शंकास्पद व्यक्तिहरुको पीसीआर परिक्षण नै नगरी ६/७ दिनमै घर फर्काउने गरेको बताइएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने नगरपालिकाले पालिकाभित्र बनौटा, रौजा बजार, रौजा मजार र बन्चौरी सहितका ४ ठाउँमा क्वारेन्टाईन निर्माण गरेका छन । ती क्वारेन्टाईनमा रहेका भारतबाट आएका र शंकास्पद व्यक्तिहरुलाई ठाउँ आभाव रहेको भन्दै नगरपालिकाले ६/७ दिनमै घर फर्काउने गरेको छ ।

उनले भने पीसीआर परिक्षण नै नगरी आरडीटी परिक्षणको आधारमा कोरोना संक्रमण छैन भनी प्रमाणित गरी घर फर्काउनुको मतलब नगरभित्र संक्रमण फैलाउनु हो । हामीले पटक पटक पीसीआर परिक्षण गरेर मात्र घर पठाउनु भन्दा पनि सम्बन्धित मेयर र क्वारेन्टाईन संयोजकले कुनै सुनुवाई नगरेको गुनासो गरे ।

यस सम्बन्धमा नगरपालिकाका स्वास्थ्य प्रमुख यमुना प्रसाद यादवसँग जिज्ञासा राख्दा उनले पनि आरडीटी परिक्षण मात्र गरेर क्वारेन्टाईनमा बसेकाहरुलाई घर फर्काउने गरिएको स्वीकार गरे ।

प्रमुख यादवले भने हामीले ६/७ दिनमै कसैलाई घर फर्काएको छैन जहाँसम्म चेकजाँचको कुरा छ हामीले जिल्ला जनस्वास्थ्य र प्रदेश स्वास्थ्य महाशाखा सहित सम्बन्धित निकाय सबैलाई पीसीआर टेस्टका लागि स्वाब संकलन गर्न भनिसकेका छौं कुनैपनि निकायले चासो लिएको छैन ।

यहाँ भारतबाट आउने मान्छेहरुका चाप अत्यधिक छ पीसीआर परिक्षणको पर्खाईमा तिनीहरुलाई क्वारेन्टाईन बाहिर राख्न मिल्दैन, त्यसैले मापदण्ड अनुसार १४ दिन बसेकाहरुलाई आरडीटी परिक्षणकै आधारमामा घर घर फर्काउने गरेको छु उनले भने ।

हाल बलवा नगरपालिकामा बनौटामा २५, रौजा बजारमा २५, रौजा मजारमा ५० र बनौटामा १५ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । बनौटा बाहेक सबै क्वारेन्टाईनमा भारतबाट आएका स्थानीयबाट भरेको छ । बनौटामा समाचार लेख्दासम्म भारतको बंगलोरबाट आएका ३ जना विद्यार्थी रहेको छ ।

स्वास्थ्य प्रमुख यादवका अनुसार हालसम्म ती क्वारेन्टाईनबाट ६३ जनालाई आरडीटी परिक्षण गरी घर फर्काइएको छ । घर फर्केकाहरुमा कोरोना संक्रमण नरहेको दाबी उनको रहेको छ ।

अव्यवस्थित क्वारेन्टाईन

बलवा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन मापदण्ड विपरित र अव्यस्थित रहेको आरोप समेत लगाइएको छ । सरकारले विजुली, संचार, शौचालय र खानेपानी सुविधा सहितको कम्तिमा एक सय बेडको क्वारेन्टाईन निर्माण मापदण्ड निर्धारण गरेको छ ।

तर पालिकाले निर्माण गरेको कुनै पनि क्वारेन्टाईनमा ती सुविधाहरु उपलब्ध नगराइएको क्वारेन्टाईनबाट फर्केका एक स्थानीयले बताए ।

उनले भने शैचालय निकै फोहर र क्वारेन्टाईन कहिले पनि सरसफाई गरिदैन । त्यसमा बस्नेहरुले आफै कोठा सरसफाई गर्दै आएका छन । लाईन कटेपछि राति राति अन्ध्यारोमै बस्नु परेको छ ।

स्थानीयवासीहरुका अनुसार क्वारेन्टाईन सुरक्षा व्यवस्था नभएको कारण क्वोन्टाईनमा बसेकाहरु क्वारेन्टाईनबाट बाहिर समेत घुमफिर समेत गर्ने गरेको छ । तिनीहरुलाई मन लागे घर गएर परिवारसँग घुलमिल समेत गर्ने गरेका छन ।

हालै निर्माण गरिएको बन्चौरी क्वारेन्टाईनमा ओछयान बिनाकै बेड राखिएको छ, खाना समेत दिदैन । भारत बंगलोरबाट आएर क्वारेन्टाईना बसेका एक व्यक्तिले भने यहाँ बेड मात्रै थियो, हामी घरबाट ओछयान र झुल ल्याएर बसेका छौं, खाना समेत दुवै समय घरबाट नै मंगाएर खाने गरेका छौ ।

यस सम्बन्धमा स्वास्थ्य प्रमुख यादवले भने बन्चौरीमा हतारमा क्वारेन्टाईन निर्माण गरियो, चाँडै नै हामी सबै कुराको व्यवस्थापन गर्नेछौं ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ