क्वारेन्टाइनमा ‘बसेका ’ : संक्रमित भेटिएपछि अनसनमा !


जनकपुरधाम । उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिले खाना बहिष्कार गरेर भोक हड्ताल शुरू गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्यक्तिले सोमवार बिहानको चिया बहिष्कार गरेका छन् । 

क्वारेन्टाइनमा रहेका १० जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पूरै क्वारेन्टाइनलाई तत्काल नै स्यानिटाइज गर्नुपर्ने भएपनि हालसम्म गरिएको छैन । ‘संक्रमित भएका १० जना र क्वारेन्टाइनमा बसेका व्यक्तिले समेत त्यहीँ शौचालय, बरण्डा लगायतका सामान प्रयोग गर्ने गरेका थियौं,’ उनले भने, ‘त्यसैले क्वारेन्टाइनलाई सील गरेर स्यानिटाइज गर्नुपर्नेमा हालसम्म नगरिएकाले बाँकी व्यक्तिमा समेत जोखिम बढेको छ ।’ 

क्वारेन्टाइनमा ८ दिनअघि सबैको स्वाब संकलन गरिएको थियो । जसमध्ये १० जनाको कोरोना पोजेटिभ आएको थियो । बाँकी व्यक्तिको नेगेटिभ आएपनि रिपोर्ट नदिइएको उनले बताए । १४ दिनभन्दा बढी भइसकेका र कोरोनाको परीक्षणमा नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टाइनबाट घर पठाउनुपर्ने प्रमुख माग रहेको उनले बताए ।

‘रिपोर्ट नेगेटिभ आइसकेका हामी आफैं आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्दा थप सुरक्षित हुन सक्छौं, नत्र यहाँ क्वारेन्टाइनमा हामी झन् बढी असुरक्षित भइरहेका छौं ।’

क्वारेन्टाइन सञ्चालन भएको २ दिनसम्म उपमहानगरका प्रमुख लालकिशोर साह आफैं बिहान पुगेर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको हौसला बढाउने काम गरेका थिए । २ दिनसम्म बिहानै योग समेत सिकाउने गरिएको थियो । ‘तर २ दिनपछि न त योग सिकाउने योगगुरु नै आउनुभयो, न त मेयर सा’प वा अन्य कुनै स्वास्थ्यकर्मी नै आउनुभएन,’ झाले भने ।

क्वारेन्टाइन सञ्चालन भएको १ दिन बिहान दूधको चिया दिइएको थियो, पछि रातो चिया दिन थालिएको उनले बताए । ‘शुरूमा २ दिन चियासँगै बिस्कुट पनि दिइएको थियो तर त्यसपछि बिस्कुट पनि बन्द भएको छ,’ उनले भने, ‘२ टाइम खाना दिने गरिएको छ । दाल, भात, भुजिया र एउटा तरकारीसहित खुर्सानी र प्याज खानामा शुरू–शुरुमा दिने गरिएको थियो । पछि खानामा भुजिया दिन छाडिएको छ ।’

साँझको खाजामा कुनै दिन हलुवा, कुनै दिन सेवई र कुनै दिन च्युरा घूघनी दिने गरिएको उनले बताए । च्युरा घूघनी दिँदा च्युरा बढी तथा घूघनी एकदमै कम दिने गरिएको हुनाले खाजा खान समेत समस्या हुने गरेको उनले बताए । 

‘फोहोरमैला सफा गर्नका लागि भित्र सफाइकर्मी कर्मचारी मात्र आउने गर्छन्,’ झाले भने, ‘त्यसपछि त्यही सफाइकर्मीले नै खाना र नास्ता ल्याउने गर्छन् र टेबुलमा एकै ठाउँमा राखेर जाने गर्छन् ।’ क्वारेन्टाइनमा रहेका केही व्यक्तिलाई भित्र बस्ने कोठा उपलब्ध नभएपछि ८ जनाजति बरण्डामा नै बस्ने गरेको उनले बताए ।

समस्याबारे जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उपप्रमुख रीतादेवी मिश्रसँग सम्पर्क भएपनि आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् ।

‘शुक्रवारदेखि नै मसँग अफिसको साँचो छैन, अफिस पनि गएको छैन, त्यसैले केही पनि थाहा छैन,’ उपप्रमुख झाले बताइन् । 

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ