७२ दिन पछि सडकमा चहलपहल देखिदै


काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्ने भन्दै सरकारले ७२ दिन अघि (चैत ११) देखि लगाएको लकडाउन सामान्य खुकुलो बन्दै गएको छ। सडकमा सवारी आवगमन हुन थालेको छ।

७२ दिनसम्म घरमै बसेका सर्वसाधरण समेत पुरानै अवस्थामा काममा फर्कन शुरु गरेका छन्। आफ्नो पेशा, व्यवसायलाई निरन्तरता दिने पक्षमा उनीहरु पुगेका छन्। आर्थिक रुपमा चपेटामा पर्न थालेको भन्दै लकडाउनको सम्मान गर्दे स्वास्थ्य सुरक्षामा ख्याल राखेर काम शुरु गरेको कपनका रामकाजी लामाले बताए। सरकारले लकडाउन मात्र गर्ने भन्दा पनि विकल्प र यसको मोडालिटी परिर्वतन गरेर जनतालाई काम गर्न दिनु पर्छ उनले भने,।

मंगलबार सडकमा सवारी आवगमन केही मात्रामा बढेको पाइएको छ। यता सरकारले जेठ ३२ गते सम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ तर गृह मन्त्रालयको पास लिएर सवारी साधन सञ्चालन गर्न पाउने भनी खुकुलो व्यवस्था गरे पछि सवारी साधनको चाप सडकमा बढेको पाइएको हो। सिमा प्रवेशका नाकामा पुर्ण रुपमा कडाइ गर्नु पर्ने र उपत्यका प्रवेशमा कडाइ गरी प्रत्येकको कोरोना परिक्षण गरेर संक्रमणलाई न्युनिकरण गर्नु पर्ने नारायण कुमार गुरुङले सरकारलाई सुझाव दिए। क्वरेन्टाइनमा राख्दैमा कोरोना संक्रमण नहुने भन्ने होइन तर यो फेसन जस्तै बनायो। तत्काल परिक्षण नगर्ने हो भने यो अर्थ हिन हुन्छ त्यसैले व्यवस्थापनमा कडाइ गरेर लकडाउन खुकुलो बनाउनुको विकल्प छैन। जनताले गरेर खान दिनु पर्ने उनको माग छ।

काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । वितरण गरिएको अन्य निलो रङ्को पास पनि मान्य हुने विज्ञप्ती प्रकाशित गरी जानकारी गराएको छ।

सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ । यसका लागि [email protected] मा पठाउनुपर्ने छ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चा पदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास चाहिने छैन । यस्तै सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको छ । माथि उल्लेखितबाहेकका सवारी तथा पैदलयात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ ।

प्रकाशित : २०७७ जेष्ठ २१, बुधबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ